सिन्धुली अस्पतालमा उपचाररत एक महिलाको मृत्यु, कोरोनाको आशंका 

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा शुक्रवार एक महिलाको मृत्यु भएको छ ।महोत्तरीको पाटुकी वर्ष २१ की महिलाको सिन्धुली अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको हो । अत्याधिक ज्वरो आई स्वास प्रस्वासमा समस्या भएपछि बिहीबार अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको शुक्रवार विहान मृत्यु भएको हो ।

उनमा कोरोना भाइरस (कोभिड(१९) सँग मिल्दोजुल्दो लक्ष्यण देखिएकाले कोरोना भाईरसको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । मृतक महिलालाई आइसोलेसनमा राखेर उपचार गर्दै गर्दा मृत्यु भएको अस्पतालका कोरोना भाइरस(कोभिड(१९) फोकल पर्सन डाक्टर प्रशन्नराज भण्डारीले बताउनुभयो ।

गत असार ३ गते महोत्तरीको पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका १ सिम्ले स्थित माईती घरमा आई बसेकी महिलालाई अत्याधिक ज्वरो आई स्वास प्रस्वासमा समस्या आएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचार गर्न ल्याउँदा ज्वरो आएको तिन चार दिन बढी भइसकेको र घरेलु उपचार गर्दा पनि निको नभएपछि अस्पताल ल्याइएको डाक्टर भण्डारीले बताउनुभयो ।

मृत्यु भएकी महिलामा कोभिड-१९ को संक्रमणको लक्ष्यणहरू देखापरेकाले उनको स्वाब संकलन गरेर पीसीआर टेष्टका लागि शुक्रबार बिहान प्रादेशिक अस्पताल हेटौंडा पठाइएको डा. भण्डारीले जानकारी दिनुभयो ।

मृतक महिलाको नमुना परिक्षणको रिपोर्ट नआए पनि उनको सम्पर्कमा रहेका आफन्तहरुलाई स्वास्थ्य सुरक्षा अपनाएर शव व्यवस्थापनका लागि तयार गरिएको भण्डारीले जानकारी दिनुभयो ।