गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि


न्युज अफ नेपाल, पाेखरा ।

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ सय ९२ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप नयाँ २५ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले बताउनुभयाे ।

जस अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जना तनहुँमा २ जना, स्याङ्जा र बाग्लुङमा  एक-एक जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

निर्देशक डा. शर्माका अनुसार नवलपरासीका गाैडाकाेट नगरपालीकामा २३ वर्षदेखि ५३ वर्षसम्मका ७ जना पुरूषहरूमा काेराेना पाेजेटिभ देखिएकाे छ । त्यस्तै कावासेती नगरपालीकामा १८ वर्षदेखि ५८ वर्षसम्मका १२ पुरूषहरूसँगै २५ र ३५ वर्षीया महिलाहरूमा काेराेना पुष्टि भएकाे छ ।

स्याङ्जाका कालिण्डकी गाउँपालिकामा १ जना ५८ वर्षीय पुरूष, तनहुँकाे व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरूषहरूमा काेराेना पुष्टि भएकाे छ । त्यस्तै बाग्लुङकाे  बरेंङ गाउँपालिकाका २३ वर्षीय युवामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

शर्माका अनुसार उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।