चट्याङबाट ६ को मृत्यु, दुई घाइते


राजविराज, (नेस)

सप्तरीको विभिन्न स्थानमा बिहीबार बिहान चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

महदेवा गाउँपालिका–२ का बेचन यादव, छेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीका ललितादेवी यादव र राजगढ गाउँपालिका–२ बेल्ही चपेनाका केसी साहको मृत्यु भएको हो ।

महदेवा गाउँपालिकाका दुवै जना कोशी नदीमा नुहाउन गएको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । यसै गरी ललिता धान रोप्न गएको अवस्थामा तथा केसी खेतमा काम गर्न गएका बेला चट्याङ लागेर मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार राजगढ गाउँपालिका–२ बेल्ही चपेनाकी किशोरी आशा मण्डल घरमै काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका भइरहेको छ ।

यस्तै, मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

गाउँपालिका–२ को कालापानीमा बुधबार राति करिब पौने ९ बजे परेको चट्याङले स्थानीय आशालाल घिसिङकी २५ वर्षीया पत्नी बिना घिसिङ र बुद्ध घिसिङकी छोरी १७ वर्षीया सम्झना घिसिङको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताउनुभयो ।

चट्याङ लागेर सोही स्थानका पूर्णबहादुर जिम्बाका १४ वर्षीय छोरा किरण जिम्बा गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

आ–आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमा र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारका क्रममा राति करिब साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।