शुक्लागण्डकीको निती तथा कार्यक्रम : आफ्नै भू–उपयोग नीति ल्याउने



मिला दरै, तनहुँ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड १९) को त्रासले शहरबाट गाउँ फिरेका युवालाई प्राथमिकतामा राखिएको छ । वैदेशिक रोजगारीमा गएकाहरु वेरोजगार हुन थालेपछि सरकारले उद्दार गरी ल्याउँदैछ । कोरोना संक्रमण तिव्र गतिमा फैलिरहदा कृषि उत्पादनमा जोड दिएर आत्मानिर्भर नहुने हो भने रोगले भन्दा भोकले मर्नुपर्ने अवस्था आउने विज्ञहरुले बताइसकेका छन् । सोही अनुरुप शुक्लागण्डकी नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम निर्धारण गरेको छ ।

सातौँ नगरसभमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख सविता रसाईलीले बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाउन प्रोत्साहन गरिने जानकारी दिनुभयो । नगरपालिकाले आफ्नै भू उपयोगको नीति बनाउने, कृषिको व्यवसायीकरण र विविधीकरणमा जोड दिने नीति लिएको छ । वैदेशिक रोजगारबाट फर्कि बेरोजगार भएका युवालाई उनीहरुको सीप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिने निती तथा कार्यक्रममा जनाइएको छ ।

बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न स्वारोजगारमूलक सीप विकास तालिमको व्यवस्था गरिने र विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गर्ने नगरपालिकाको नीति छ । कृषि हाटबजार सञ्चालनको प्रबन्ध मिलाउने, शीत भण्डार निर्माण गर्ने रसाइलीले बताउनुभयो ।

कोरोनाको प्रकोपबाट पाठ सिक्दै अन्य प्रकोप पनि फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भावति प्रकोप नियन्त्रण तथा व्यवस्थापनको तयारी सहितको बजेट व्यवस्था गर्ने जनाएको छ । संघीय सरकारको मातहातमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई यसै वर्षदेखि गण्डकी विश्वविद्यालयबाट सम्बन्धन लिई अर्थात् आफैले चलाउने व्यवस्था गरी शिक्षण अस्पताल बनाउने र कम्तीमा तीन सय शैय्याको विशेषज्ञ सेवा, एक सय शैय्याको ओपिडी, वहिरंग सेवा र एक सय शैय्याको सरुवा रोग नियन्त्रण उपचार सेवा सहितको विशेषज्ञ सेवा अस्पतालमा विकास गर्न प्रदेश र संघीय सरकारसंग अनुरोध गर्ने तयारी गरेको छ । वडास्तरका स्वास्थ्य संस्थाको भवन नभएका ठाउँमा भवन निर्माण गर्ने र सेवाग्राहीको आधारमा प्राविधिक जनशक्तिको व्यवस्था गरिनेछ ।

नगरपालिकाको बजेट एक अर्ब सात करोड

शुक्लागण्डकी नगरपालिकाले एक अर्ब सात करोड सात लाख ३७ हजार आठ सय रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरेको छ । संघीय सरकारबाट समानीकरण अनुदान चौध करोड ६१ लाख, राजस्व बाडफाँडमा १० करोड ३१ लाख ९० हजार, शशर्त अनुदानमा ३६ करोड १९ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २६ लाख ३३ हजार, राजस्व बाडफाँड एक करोड दुई लाख ५१ हजार र समपुरक अनुदान एक करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । आन्तरिक आम्दानी १४ करोड ६३ लाख ६० हजार रुपैयाँ जिल्ला समन्वय समितिबाट एक करोड ८० हजार, सामाजिक सुरक्षा भत्ता १५ करोड आउने अनुमान गरेको छ ।

कोरोनाका कारण चालु आर्थिक वर्षका योजनाहरु ५० प्रतिशत पनि सम्पन्न हुन नसक्ने अवस्था भएकाले आगामी वर्षको बजेटको आकार बढेको मेयर किसान गुरुङले बताए । नगरपालिकाले चालु वर्षमा ८५ करोड ६८ लाख १२ हजार आठ सय ७५ रुपैयाँको बजेट विनीयोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्