पूर्वाधार क्षेत्र विकासमा काठमाडौं महानगरपालिकाको ५१ प्रतिशत बजेट



नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७७/२०७८ मा सबैभन्दा बढी बजेट पूर्वाधार विकास क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ ।

महानगरले बुधबार सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ ।

यो कुल बजेटको ५१ दशमलव ३४ प्रतिशत हो । कामपाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सातौं नगर सभामा सार्वजनिक गर्नुभएको १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपियाँको अनुमानित बजेटमा पूर्वाधार विकासमा बढी रकम विनियोजन गरिएको छ ।

बजेटमा आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलव ५ प्रतिशत हो ।

त्यसै गरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरेको छ । यो कुल बजेटको १० दशमलव ८५ प्रतिशत हो ।

सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको १५ दशमलव २२ प्रतिशत हो ।

त्यसै गरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ५ दशमलव ८६ प्रतिशत हो । ससर्त अनुदानतर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरेको छ । जुन कुल बजेटको १५ दशमलव ६८ प्रतिशत हो ।

कामपाले अन्तरिक श्रोतबाट कुल ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । यो कुल आम्दानीको ४१ प्रतिशत हो ।

त्यसै गरी बाह्य स्रोततर्फ निःशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, ससर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ताबापत १ अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजार गरी कुल ६ अर्ब १६ करोड ८ लाख २६ हजार रुपियाँ आम्दानी हुने प्रक्षेपण गरेको छ ।

जुन कुल आम्दानीको ३७ दशमलव ५० प्रतिशत हो । कुल आम्दानीमा नपुग हुने रकम ३ अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाकोे बजेटमा उल्लेख गरिएको छ । यो कुल आम्दानीको २१ दशमलव ३० प्रतिशत हो ।

बजेटमा कामपाले आन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ । जसअन्तर्गत प्रमुख स्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ ।

त्यसै गरी व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ ।

कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलव १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ ।

कोभिड–१९ को असर, त्यसको रोकथाम र यसवाट पर्न सक्ने प्रभावहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।

महानगरका लागि बिशेष महत्व मानिने योजनाहरु काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किङ भवन निर्माण, पर्यटन पदमार्ग विकास, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेघा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवद्र्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।

सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत सीप विकास कार्यक्रम, मेड इन काठमाडौं, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस सञ्चालन, प्रविधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन, युवासँग मेयर कार्यक्रम र वडावडामा मेलमिलाप शिविर सञ्चालनजस्ता महत्वपूर्ण कार्यक्रमका लागि पनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।

त्यसै गरी काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा सम्वर्दन र पूर्वाधार बिकासलाई महत्व दिई बजेट विनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।

प्रतिक्रिया दिनुहोस्