काठमाडौं महानगरपालिले करमा छुटैछुट दिने


नेपाल समाचार, काठमाडौं

काठमाडौं महानगरपालिले कोभिड–१९ को प्रभावका कारण विभिन्न क्षेत्रमा परेको असरलाई मूल्याङ्कन गर्दै विभिन्न किसिमको करमा छुटैछुटको व्यवस्था गरेको छ । करदाता कामपाबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुट दिएको छ ।

त्यसै गरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा १० प्रतिशत छुट दिने जनाएको छ । घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट नदिइएको महानगरले जनाएको छ ।

होटल तथा पर्यटन क्षेत्रमा पर्न गएका असरलाई मध्यनजर गरी होटल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६/७७ सम्मको घरजग्गा कर-सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७/७८ को सम्पत्ति करमा थप ७५ प्रतिशत छुट दिने जानकारी दिएको छ ।

२०७७ पुस मसान्ताभित्र सम्पत्ति कर बुझाएमा हुने १० प्रतिशत छुटसमेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पत्ति करमा छुट हुन आउँछ ।
त्यस्तै घर भाडामा बस्ने नगरबासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तीमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६÷७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा १० प्रतिशत छुट गर्ने भएको छ । ‘तर, आर्थिक वर्ष २०७६÷७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताको हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक बर्ष २०७७÷७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा १० प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ’ –आर्थिक विधेयकमा उल्लेख गरिएको छ । .
त्यसै गरी व्यवसाय गरी बस्ने करदातालाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा लाग्ने व्यवसाय करमा होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा ५० प्रतिशत र अन्य सबै व्यवसायीहरुले तिर्ने व्यवसाय करमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।