कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार स्वास्थ्यकर्मी संक्रमित

आकस्मिकबाहेकका सेवा बन्द


काठमाडौं, (नेस)

कोरोना संक्रमणका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा संक्रमित भएका छन् ।

मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार विभिन्न विभागमा काम गर्ने फरकफरक समूह बनाइएको र समूहगत डिउटी सिफ्ट हुनुअघि पीसीआर परीक्षण गरिने हुँदा परीक्षणकै क्रममा चार जनामा कोरोना संक्रमण देखिएको डा .थापाले बताउनुभयो । उनीहरुको डिउटी सकेर घर जानु अघि पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो ।

प्रतिष्ठानमा १ सय २० बेडको आइसोलेसन वार्ड रहेको र २६ जना कोरोना संक्रमण पुष्टि भएका संक्रमितको उपचार भएकोमा २४ जना डिस्चार्ज भइसकेका र २ जना अझै आइसोलेसन वार्डमा उपचाररत छन् । ४ जना स्वास्थ्यकर्मी, कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि अन्य स्वास्थ्यकर्मीको पीसीआर परीक्षण अवधिका लागि आकस्मिकबाहेकका सेवा स्थगित गरिएको छ ।