पञ्चेश्वरमा सशस्त्रको बीओपी स्थापना हुने


बैतडी, (नेस)

बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएको छ । केही दिनभित्रै पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बीओपी स्थापनाको तयारी भएको हो ।

पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा हाल सशस्त्रको पोस्ट खडा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको उक्त पोेस्टलाई नै बीओपीमा रुपान्तरण गरिन लागिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताउनुभयो ।

उक्त बीओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले गर्नुहुने जनाइएको छ । बीओपी स्थापनाका लागि पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा उपलब्ध गराएको छ । बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ ।

बीओपीले सीमा सुरक्षाका लागि चौबीसैं घण्टा सुरक्षा दिने, सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजस्व चुहावट नियन्त्रण गर्ने, भारतीय सुरक्षाकर्मी समन्वय गरी संयुक्त गस्ती गर्ने, सीमा सुरक्षा निगरानी, समन्वय सुरक्षा गर्ने जनाइएको छ ।

यसअघि बैतडीको झुलाघाटमा पनि गत जेठ १० गते बीओपी स्थापना गरिएको थियो । बीओपी स्थापना भएपछि सीमा सुरक्षाका लागि सजिलो हुने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।

हाल सीमामा देशभरि १ सय २९ बीओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५ सय पु¥याउने तयारी गरेको छ । नेपालतर्फको सीमा नाकामा भारतको ५ सय ३० बीओपी रहेका छन् । नेपाल सरकारले पनि सोही अनुपातमा बीओपी थप्ने तयारी गरेको हो ।