क्वारेन्टाइनमा झुण्डिएको अवस्थामा शव फेला


मिला दरै, तनहुँ ।

तनहुँको एक क्वारेन्टाइनमा बसेका व्यक्ति मृत भेटिएका छन् । तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका एक व्यक्ति मंगलबार राती क्वारेन्टाइनमै मृत भेटिएका हुन् ।

सोही ठाउँका ४९ वर्षीय हिरा सिंह परियार क्वारेन्टाइनमै मृत फेला परेको घिरिङ गाउँपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक कृष्ण प्रसाद रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार रोजगारीको शिलशिलामा भारत गएका उनी असार ४ गते घर फर्र्किएका हुन् ।

उनलाई असार ४ गते जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित बेलचौताराबाट गाउँपालिकाले लगेर गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखेको उक्त क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी बताउनुहुन्छ ।

उनी असार ५ गते क्वारेन्टाइनबाट भागेका थिए । क्वारेन्टाइनमबाट भागेका उनलाई असार ६ गते गाउँपालिकाकै थानीवन सामुदायकि वनमा फेला पारेर चन्द्रज्योति माविको क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य अधिकृत रिमाल बताउनुभयो ।

मंगलबार राती करिब ८ बजेको समयमा भवनभित्रै झुण्डिएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । मृतकका परिवार र प्रहरीलाई घटनाका बारेमा जानकारी गराइसकिएको र उनीहरु घटनास्थलमा पुगेपछि आवश्यक अन्य प्रक्रिया अघि बढ्ने रिमालको भनाई छ । मृतक मानसिक रोगी रहेको बताइएको छ ।