अब बेलुनबाटै अन्तरिक्ष यात्रा

0
Shares

न्युयोर्क, (एजेन्सी) ।

अन्तरिक्ष केन्द्र, चन्द्रमा यात्रा, मंगल ग्रहमा रोवर परिचालनजस्ता विज्ञानका उपलब्धिसँगै मानवमा अन्तरिक्ष पर्यटनको सपना तीव्र बन्दै गइरहेको छ । यसलाई पूरा गर्न थुप्रै अन्तरिक्ष एजेन्सीहरु विभिन्न योजनासँग अन्तरिक्ष यान विकास गर्न सफल भइसकेका छन् ।
यसअघि अन्तरिक्ष पर्यटनको सुरुआत रूसको अन्तरिक्ष एजेन्सी सोयुज यानले गरिसकेको छ । यद्यपि यो महँगो भएर पनि पर्याप्त रुपमा अगाडि बढ्न सकेको देखिँदैन ।

यस अभियानमा निजी तथा सरकारी अन्तरिक्ष एजेन्सीबीच एक प्रकारको प्रतिस्पर्धा नै चलेको छ । अन्तरिक्ष यात्रा गर्ने इच्छा राख्नेहरुका लागि स्पेस टुरिज्म स्टार्टअपले नयाँ योजना अगाडि सारेको छ । यस संस्थाले त्यस्ता पर्यटकको चाहना सन् २०२४ सम्ममा पूरा गर्ने लक्ष्य लिएको छ ।

स्पेस टुरिज्म स्टार्टअपले अन्तरिक्ष पर्यटकलाई एक क्याप्सुल बेलुनबाट वायुमण्डलको भ्रमण गराउने भएको छ । स्टार्टअपले क्याप्सुल बेलुनको नाम स्पेससिप नेप्च्युन दिएको छ, जसमा ९ यात्रु बस्न सक्नेछन् भने यात्रा ६ घण्टाको हुनेछ । यसमा २ घण्टा वायुमण्डलमा पुग्न र अर्को २ घण्टा त्यहाँबाट झर्न समय लाग्नेछ । बाँकी दुई घण्टामा वायुमण्डल र अटलान्टिक महासागरको सुन्दरताको मनोरञ्जन लिन सक्नेछन् ।

१० हजार फिटमाथि आकाशमा शयर

स्पेससिप नेप्च्युन बेलुन यात्रीलाई १० हजार फिट माथि पु¥याउँछ । बेलुनमा ठूलो आकारको झ्याल हुनेछ, जहाँबाट यात्रीले बाहिरको सुन्दरताको रस्वादन गर्न सक्नेछन् । यो दुई घण्टा वायुमण्डलमा रहनेछ । यस क्रममा बेलुन अटलान्टिक महासागको वरिपरि विचरण गरिरहन्छ ।

स्पेससिप नेप्च्युन बेलुन बनाउने स्टार्टअप जेन पोइन्टर र टेवर म्याक्लमले मिलेर शुरु गरेका हुन् । यसअघि यो फर्मको नाम वल्ड भ्यु थियो जसले अन्तरिक्ष तस्वीरलाई सेन्सरको माध्यमबाट खिच्ने काम गथ्र्यो । सेन्सरलाई वायुमण्डलमा पठाइने बेलुनमा राखिन्थ्यो । स्पेससिप नेप्च्युन बेलुनको सोच यहींबाट आएको हो ।

सुरक्षित तथा आरामदायी यात्राको दाबी

स्टार्टफले एक विज्ञप्तिमा पहिलोपटक स्पेस फ्लाइट आम नागरिकका लागि तयार गरिरहेको जनाएको छ, यो पर्याप्त सुरक्षित र आरामदायी हुने विज्ञप्तिमा उल्लेख छ । यसमा बस्नु विमानमा बस्नु जस्तै हुनेछ भने बस्नका लागि कुनै विशेष प्रकारको कपडा लगाउन आवश्यक छैन । १० हजार फिट उचाइमा गएर यात्रीले फरक खालको सुन्दरताको अनुभव गर्नेछन् ।

अमेरिकी स्टार्टअपका अनुसार बेलुन फ्लोरिडको केनेडी स्पेस सेन्टरबाट छोडिनेछ । यो अटलान्टिक महासागरस्थित एक पानीजहाजमा अवतरण हुनेछ । कम्पनीका सहसंस्थापक जेन पोइन्टरले भनेका छन्–‘हामी इच्छुकलाई अन्तरिक्षसम्म पु¥याउनका लागि प्रतिबद्ध छौं । सन् २०२३ मा केहीका लागि यसको परीक्षण हुनेछ र सन् २०२४ मा पूर्ण रुपमा यात्रुका लागि हुनेछ ।’