लमजुङमा ५ जनामा कोरोना संक्रमण पुष्टि



शिक्षा पन्त, लमजुङ ।

लमजुङमा सोमबार पहिलो पटक ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

लमजुङबाट पीसीआर परीक्षणका लागि पोखरा पठाइएका १ महिला र ४ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । संक्रमति मध्ये ४ जना भारतबाट र १ जना बाराबाट आएका रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । बेसीशहर नगरपालिका–७ सहजीस्थित सहरी विकास कार्यालयको जिल्लास्तरीय क्वारेन्टाइनमा रहेका ३ जना र सुन्दरबजार नगरपालिका–७ लमजुङ क्याम्पसमा रहेको जिल्लास्तरीय क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब पठाइएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार कोरोना संक्रमण पुष्टि भएकाहरुमा मध्यनेपाल नगरपालिका–४ का ४२ बर्षीय र ६ का २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । क्व्होलासोंथर गाउँपालिका–९ का १७ बर्षीय पुरुष, बाराको कोहल्बीका ४१ बर्षीय पुरुष र बेंसीसहर नगरपालिकाका–३ की २१ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । सहजीस्थित जिल्लास्तरीय क्वारेन्टाइनबाट जेठ २७ गते ५ जनाको थ्रोट स्वाब पोखरा लगिएको ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जेठ २६ गते जिल्लास्तरीय क्वारेन्टाइन सुन्दरबजारबाट १३ जनाको पीसीआर परीक्षणका लागि पोखरा पठाइएकोमा २ जनाको पोजेटिभ आएको हो ।

लमजुङबाट हालसम्म ३ सय ३९ जनाको थ्रोट स्वाब पठाइएकोमा पहिलो पटक ५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । २ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ८२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्