कोरोना संक्रमण पुष्टि भएपछि बन्दीपुर गाउँपालिका सिल

0
Shares

मिला दरै, तनहुँ ।

बन्दीपुर गाउँपालिकामा समुदायका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सिल गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका सोमबार पहिलो पटक गाउँपालिकामा एकैचोटी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समुदायका व्यक्ति लगायत क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पोजिटिभ देखिएसँगै रेडजोनको रुपमा सिल गरिएको छ । चिकित्सक सहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र दुई स्थानको क्वारेन्टाइनमा रहेका व्यक्ति लगायत ३४ जनाको स्वाब नमूना संकलन गरी परीक्षणका लागि पठाइएकोमा ११ जनाको रिपोर्ट पोजिटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा पुष्टि भएसँगै गाउँपालिका सिल गरिएको छ ।

गाउँपालिकाले रिपोर्ट आउनासाथ विज्ञप्ती मार्फत् सिल गरिएको जनाएको छ । गाउँपालिकाले दिदै आएको सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दीपुर एक हप्ताका लागि बन्द गरिएको छ । साथै बन्दीपुर अस्पतालको सेवा बन्द गरिएको छ । त्यस्तै गाउँपालिका अन्तर्गत सञ्चालित सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संघसंस्थाहरु दुई हप्ताका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।