‘हुनेखानेका कुकुर’ लाई ट्याग कहिले ?


हेटौंडा, (नेस)।

शहरबजारतिर हुनेखानेहरूका घरमा पालेका कुकुरलाई दिसा गराउन साँझ– बिहान सडकतिर घुमाउने डो¥याउने गर्छन् ।

सडकछेऊमा बेला–बेलामा देखिने फोहोर, सडकको धूलो र हिलोले कुरूप बनाउने गरेका कारण कुकुरले सडकछेउमा दिसा गरेर वा गराएर बनाएको फोहोरको विषयलाई कसैले पनि चासोका रूपमा हेरेको पाइन्न ।

सहरलाई सफा, स्वच्छ र विभिन्न प्रकारका रोगबाट सुरक्षित राख्न कुकुरधनीले प्रयास नै नगर्दा उक्त सडक भएर आवत–जावत गर्ने र छरछिमेकलाई प्रभाव परिरहेको हुन्छ । कुकुरलाई यस प्रकारको नराम्रो बानी लगाइनु र उसको शारीरिक अभ्यासको कमीले गर्दा कुकुरधनी मात्र होइन, सबैमा दुर्गन्ध र विभिन्न रोगको डर रहने गर्दछ ।

पशु चिकित्सकका अनुसार कुकुरलाई जथाभावी दिसा गराउनु मानव स्वास्थ्यका लागि अति संवेदनशील रहने गर्दछ ।

कुकुरको दिसाका कारण टक्सोप्लाज्मोसिस नामक रोग लाग्न सक्छ । हेटौंडाका कुकुरधनीले पशु कार्यालयमा उपचार गराउन ल्याउँदा कुकुरमा जुका, डायरिया, लुतो, केनाइन डिस्टेम्पर, पार्वो मुख्य रोग देखापरेको पशु स्वास्थ्यकर्मीको अनुभव छ ।

यही तथ्यलाई मनन गर्दै हेटौंडा उपमहानगरपालिकाले अभियान सञ्चालन गर्ने बताएको चार वर्षभन्दा बढी भइसक्यो, तर काम शून्य छ । नगरपालिकाले घरपालुवा कुकुरलाई सशुल्क दर्ता गर्ने बताएको थियो ।

घरमा पालिएका कुकुरको दर्ता गरी ती कुकुरलाई ट्याग दिइने र कुकुरलाई दिसापिसाब गराइने ठाउँ र भ्याक्सिनबारे निरन्तर अनुगमन गरिने बताइएको भए पनि कामै हुन सकेको छैन । धनीले पालेका कुकुरबारे अनलाइन पद्धतिबाट जानकारी सम्बन्धित धनीलाई दिने व्यवस्था गरिने बताइएको थियो ।

हेटौंडा उपमहानगरपालिकाले चार वर्षदेखि घरपालुवा कुकुर दर्ता गर्ने भने पनि अझै नगर्दा कुकुरको दिसाबाट रोग फैलन सक्ने डर यथावत छ । उपमहानगरपालिकाले २०७३ सालमा कुकुर दर्ता गर्ने कार्यक्रम बनाए पनि कार्यान्वयनमा ल्याउन सकेको छैन ।

स्थानीय निकायको चुनाबको केही दिनअघि कुकुर दर्ता गर्ने र सामुदायिक (भुस्याहा) कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमको डिजाइन निर्माण भएको उपमहानगरका सहरी विकास अनुसन्धान तथा वातावरण महाशाखाका पूर्वप्रमुख बीके महर्जनले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रवन्धक भीमप्रसाद तिमल्सिनाले केही वर्षयता कुरा उठे पनि त्यसको प्रोसेस अघि बढ्न नसेकेको स्वीकार गर्नुभएको छ । उपमहानगरपालिकाले मात्र होइन, त्यस बेला पशुसेवा कार्यालयको समन्वयमा कुकुर दर्ता गर्ने कुरा रहेको उहाँले बताउनुभयो ।