रुकुमपश्चिम हत्याकाण्ड : वादी र जाहेरीवालातर्फका वकिलको बहस सकियो


रुकुमपश्चिम । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ ।

आज बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसंँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार वादी र जाहेरीवालातर्फबाट २३ वकिलले बहस गरेका छन् । पहिलो दिन शुक्रबार वादीका तर्फबाट पाँच सरकारी वकिल र दुई जाहेरीवालातर्फका गरी सात तथा आइतबार जाहेरीवालातर्फका नौ र आज जाहेरीवालातर्फकै सात वकिलले बहस गरेका हुन् ।

मङ्गलबार प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराले बताउनुभयो । प्रतिवादीतर्फबाट सात वकिलले बहस गर्दै छन् । प्रतिवादीतर्फका वकिलको बहस मंगलबार नै सकिन सक्ने अदालतले जनाएको छ । मङ्गलबार नै थुनछेक बहस सकिएमा बुधबार थुनछेक आदेश आउन सक्ने आकलन गरिएको छ ।

गत जेठ १० गते रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एकको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा मुद्दा दर्ता गराएको छ ।