एमसीसी पास गरे आँधीबेरी आउने !


नेपाल समाचारपत्र, काठमाडौं ।

जनताको आक्रोश नजरअन्दाज गर्दै केही शीर्ष नेताको मोर्चाबन्दीमा एमसीसी अनुमोदन गरे देशमा आँधीबेरी आउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले चेतावनी दिएको छ ।

बन्दाबन्दीको समयमा जनतालाई कफ्र्युमा थुनेर, व्यापक छलफल नगरी संसद्बाट एमसीसी पास नगर्न राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले सम्बन्धित सबैलाई कडा चेतावनी दिएको छ । ‘अन्यथा आन्दोलनको आँधीबेरी ल्याउन बाध्य हुने’ राप्रविसंले आइतबार विज्ञप्ति जारी गर्दै बताएको छ ।

कोभिड–१९ व्यवस्थापनमा सरकारको चरम लापरबाही र असफलताका साथै भ्रष्टाचारविरुद्ध युवाहरूद्वारा स्वतःस्फूर्त सञ्चालनमा आएको आन्दोलनलाई सहयोग र समर्थन गर्ने राप्रविसंका अध्यक्ष धनसुर शाहीले विज्ञप्तिमा जनाएका छन् ।

विद्यार्थी संगठनको राजधानीमा उपलब्ध पदाधिकारीको आइतबार सम्पन्न बैठकले तत्कालीन राप्रपा निकट विद्यार्थी संगठनसँग समायोजनका लागि वार्ता गर्न सात सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता समितिको संयोजकमा उपाध्यक्ष युवराज राना, सदस्यहरूमा डम्बरजंग शाही, कुमारी लामा, विजय काफ्ले, एन्टी संघर्ष राई, बेलबहादुर थापा र भूपेन्द्र शाही छन् ।

दुई राप्रपा एकतापछि गठन भएको केन्द्रीय कार्य समितिमा युवाहरूको न्यून उपस्थिति रहेकोमा विद्यार्थी संगठनले चिन्ता व्यक्त गरेको छ । केन्द्रीय समितिमा ५० प्रतिशत युवा सहभागिताको माग गर्दै राप्रपाका तीन अध्यक्ष पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको विज्ञप्तिमार्फत ध्यानाकर्षण गरिएको छ ।