कोरोना संक्रमित ५० हजार पुग्ने !


काठमाडौं, (नेस)

बदलिँदो परिस्थितिको समीक्षा गर्दै नेपाली सेनाको पृतनापति सम्मेलन सैनिक मुख्यालयमा सम्पन्न भएको छ । भारतसँग सीमा विवाद र कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर सेनाले गत शुक्रवार पृतनापति सम्मेलन बोलाएको थियो ।

भेलामा आठै पृतनाका पृतनापतिहरुले आ–आफ्नो कार्यक्षेत्रमा देखिएका समस्याका बारेमा धारणा राखेका थिए । भारत र अन्य मुलुकबाट आउने नेपालीको संख्या बढी रहेको भन्दै कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने आँकलन गरेको सैनिक मुख्यालयले जनाएको छ ।

छलफलमा संक्रमितको संख्या ५० हजार नाघ्न सक्ने विश्लेषण गरिएको छ । साथै भविष्यमा कोरोना भाइरसको महामारी उच्च बिन्दुमा पुग्दा आइपर्ने चुनौतीलाई कसरी सामना गर्ने भन्नेबारेमा समेत बैठकमा छलफल भएको थियो ।

बैठकमा कोरोना संक्रमित संख्या १० हजार कटे सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने भन्दै त्यसका लागि सेनालाई कसरी तयारी हालतमा राख्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।

सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी समेत सेनालाई दिएको थियो । सेनाले महँगो मूल्यमा औषधि खरिद गरेको र समयमा सामग्री खरिद गर्न नसकेको भन्दै सेनाको आलोचनासमेत भइरहेको छ ।

पृतनापति सम्मेलनमा सेना मूल कामबाट अन्य क्षेत्रमा प्रवेश गर्न नहुने सैन्य अधिकृतले धारणा राखेका छन् । यसले भविष्यमा सेनाको छवि नै बिग्रिने चिन्ता उनीहरुले गरेका छन् ।