पहिरोले अरुण नदी थुनियो, दुई परिवार विस्थापित


संखुवासभा, (नेस)

संखुवासभाको मकालु गाउँपालिका–२ ओयाङ्गमा गएको पहिरोले आशिंक रुपमा अरुण नदी थुनिएको छ । मकालु गाउँपालिकाको २ र ५ को सिमानामा आइतवार ६ सय मिटर माथिबाट खसेको पहिरोले अरुण नदी थुनिँदा ताल बनेको हो ।

पहिरोले मकालु गाउँपालिका–२ का दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा प्रकाश राई र हीरालाल राईका परिवार रहेका र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका संखुवासभा प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुुसार करिव ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिएको र करिव ३ सय मिटर पानी जमेर ड्याम बनेको छ । ड्याम बने पनि पानीको बहाब माथिबाट बग्न भने थालिसकेको बताउनुभयो । उहाँले पहिरोको विस्तृत जानकारी आइनसकेको र पहिरोको जोखिममा रहेका प्रकाश राई र हीरालाल राईको परिवारलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो ।

पहिरोले बनाएको ड्याम एकैपटक पानीको बहाबले खोल्न सक्ने आशंकामा अरुण नदी आसपास बस्ती रहेको अरुण तेस्रो आयोजनाको पावरहाउसस्थल पुखुवा आसरपास र हेलुवाबेंसी, चेवाबेंसी, मनकामना, पिलुवालगायतका क्षेत्रका स्थानीयलाई अरुण नदी आसपास नजान र सर्तक भएर बस्न आग्रहसमेत गरेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिनको पैदल दूरी टाढा रहेको छ ।