अति नै पोषणले भरिपूर्ण वनस्पति हो सजीवन । हामी कहिलेकाहीँ यसको तरकारी बनाएर त खान्छौँ तर कुपोषित बालबालिका अथवा वयष्ककै लागि यो संजीवनी हो भन्ने तथ्य प्रायः हामीलाई थाहा छैन । तराईका घर–घरमा सजीवन हुन्छ, सडकका छेउमा पनि यसको रुख हुन्छ । तर यसको महत्व बुझेर प्रयोग गर्नेहरु कमै छन् । नेपालगन्जमा गणेश शर्माले सजीवनको बारेमा छलफल गर्दा आफ्नो अनुभव सुनाएका थिए । उनको अनुभव सुनेर त्यहाँ उपस्थित सबैजना छक्क परेका थिए । यसबाट थाहा हुन्छ कि सजीवनका बारेमा धेरै जना अनभिज्ञ छन् ।
सजीवनलाई कति जनाले शीतल चिनी पनि भन्छन् । संस्कृतमा यसलाई तीक्ष्णगन्धा भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मुङा र कतै सहिजन पनि भन्छन् । अंग्रेजी भाषामा मारिन्गा भनिने यो वनस्पतिको बारेमा विश्व स्वास्थ संघले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दै छ ।
सजीवनको पात पनि उत्तिकै पौष्टिक छ, यसमा कार्बोहाइट्रेट पनि हुन्छ । सजीवनको पातको तरकारीले शरीरमा ऊर्जा दिन्छ ।
साथै पातमा भिटामिन ‘सी’, पोटासियम आदि पनि पर्याप्त पाइन्छ । भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको यो उपहार हो तर पनि यो पौष्टिक उपहार अपहेलित छ । अनि स्वास्थ्य मन्त्रालय पनि बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँडदै हिँड्छ तर समुदायका आमालाई करेसाबारीमा सित्तैमा पाइने सजीवन खानु भनेर सिकाउँदैन ।
प्रतिक्रिया