होम क्वारेन्टाइनमा मृत्यु भएकाको कोरोना पोजेटिभ


अनिल खत्री, गुल्मी

गुल्मीको एउटा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको कोरोना पोजेटिभ आएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीवार राति मृत्यु भएको थियो ।

मृतक पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रूपन्देहीमा पठाइएकोमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताउनुभयो । गत जेठ ती पुरुष २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।

मृतक पुरुष प्यारालाइसिसको बिरामी रहेको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताउनुभयो ।

भारतमा उपचार गरेर घरमा ल्याइएका पुरुषको हेरचाह गर्दै नेपाल ल्याएका अर्का एक जनाको आरडीटी परीक्षणका नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बस्न नसक्ने भएपछि मृतकका छोरीज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टाइनमा राखेका थिए ।

मृतक पुरुषको शवलाई शुक्रबार नै सोही गाउँपालिकामा नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।

जिल्लामा पछिल्लो तथ्याङ्कअनुसार १ सय ५३ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमित ६ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाबाट १ हजार २६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४ सय २८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।