हाेसियारः विशेष अदालत जाँदै हुनुहुन्छ !


विकास भट्टराई, काठमाडौं

भ्रष्टाचारलगायतका विषयमा सुनुवाइ गर्ने विशेष अदालतले फरार भनिएका प्रतिवादीले आफूलाई कोरोना भाइरस नभएको प्रमाणित भएको कागजसहित उपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने भएको छ ।

लकडाउनको अवधिमा केही प्रक्रिया मात्र सुचारु राखेको विशेष अदालतले अब फरार भनिएका प्रतिवादीले आफूलाई कोरोना भाइरस नभएको कागजात लिई उपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने भएको हो ।

विशेष अदालतले फरार भनिएका प्रतिवादीहरू निवेदनका साथ हाजिर हुन आएमा हाजिर गराई बयान तथा थुनछेकको सुनुवाइ गर्ने गरी सूचना जारी गरेको हो । त्यसरी हाजिर हुन आएका प्रतिवादीले कोरोना परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसै गरी अदालतले कुनै प्रतिवादीले आफ्नो मुद्दाको सुनुवाइका लागि निवेदन दिएमा त्यस्ता मुद्दाको प्रक्रिया पूरा गरी सुनुवाइ थाल्ने पनि उल्लेख गरेको छ । लकडाउनको अवधिमा सो अदालतले म्याद थप, आरोपत्रहरू दायर गर्ने, आरोपपत्र साथ उपस्थित भएका बयान तथा थुनछेक गर्नेलगायतका कार्यहरू गर्दै आएको थियो ।

हाल थप भएका कार्यहरूमा रजिस्ट्रारले गरेका आदेश उपरको निवेदनमा सुनुवाइ गर्ने पनि रहेका छन् । कसैले राखेका धरौटी फिर्ता पाउन माग गरेमा सो प्रक्रिया पूरा गरी मागबमोजिम गर्ने कार्य पनि सुचारु भएको सो अदालतले उल्लेख गरेको छ ।

विशेष अदालतले पूर्ण लकडाउनको अवधिमा दिइरहेको सेवालाई कायम राखी थप गरिएका चारवटा सेवा पनि सुचारु गर्ने भएको जानकारी गराएको हो ।

विशेष अदालतले पनि गएको चैत ९ गतेदेखि नै आफ्नो कार्यमा कटौती गर्दै आएको छ । विशेष अदालतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागबाट दायर भएको मुद्दाको शुरू कारबाही र किनारा गर्ने क्षेत्राधिकार रहेको छ । विशेष अदालतमा हाजिर हुन बाँकी प्रतिवादी दर्जनौंको संख्यामा रहेको बताइएको छ ।