विदेशी बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिने नेकपाको निर्णय, कांग्रेस र जसपाको विरोध


नेपाल समाचारपत्र, काठमाडौं

सत्तारुढ नेकपाले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा हुनुपर्ने निर्णय गरेको छ ।

लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकबारे समितिमा सहमति जुट्न नसकेका स्थितिमा नेकपाले सो निर्णय गरेको हो ।

नेकपाको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यस्तो नागरिकता प्राप्त गर्न ती व्यक्तिले सम्बन्धित देशको नागरिकता परित्याग गरेको प्रक्रिया आरम्भ गरेको हुनुपर्ने निर्णय गरिएको बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने दिर्णय गरेपछि प्रतिपक्ष दल कांग्रेस र जनता समाजवादीले विरोध जनाएका छन् ।

दुई वर्षदेखि विवादित बन्दै आएको नागरिकता विधेयकको बारेमा नेकपाले विवाह गरेर आउने बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको हो । शनिबार बसेको सचिवालय बैठकले नागरिकता विधेयक टुंगो लगाउने गरी निर्णय गरेसँगै कांग्रेस र जसपाले कडा आपत्ति जनाएका छन् ।

जसपाले नेकपाको यो निर्णय महिला र मधेस विरोधी भएको बताउँदै नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको आरोप लगाएको छ ।

जसपाका नेता राजकिशोर यावदले नेकपाले गरेको निर्णय मान्य नहुने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विवाह गरेको सात बर्षपछि मात्र बुहारीलाई अंगीकृत नागरिकता दिने निर्णय अवैज्ञानिक छ, यो कुनै पनि हालतमा मान्य हुन सक्दैन ।’

राज्य व्यवस्था समितिले यही मंगलवार पाँच दिनभित्र सहमति जुटाउन राजनीति दलहरुलाई आग्रह गरेको थियो । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राज्य व्यवस्था समितिका सभापति शशि श्रेष्ठसहितका नेताहरुसँग नागरिकता विधेयकको बारेमा परामर्श गर्नुभएको थियो ।

लगत्तै शनिबारै बसेको सचिवालय बैठकले सात वर्षपछि मात्र बुहारीलाई अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका सांसद राजन केसीले नेकपाको निर्णय व्यावहारिक नभएको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाल

समाचारपत्रसँग भन्नुभयो– ‘विवाह गरेर आएकी बुहारीलाई सात बर्षपछि मात्र अंगीकृत नागरिक दिने कुराले विवाद समाधान हुँदैन, सात वर्षसम्म बालबच्चाको जन्म दर्ता गर्न पाइँदैन, विवाह गरेर आए पनि नागरिकता नहुँदा भिसा थपेर ती बुहारी नेपालमा बस्ने अवस्था बन्छ त ? ’