शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन

0
Shares

काठमाडौँ । समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको आज ८९ वर्षको उमेरमा निधन भएको छ । उहाँको काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काठमाडौँका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मनुभएका जोशीको काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान रहेको छ । आणविक वैज्ञानिक डा बलराम जोशीसँग विवाह गर्नुभएका उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ । जोशीले बनारसबाट राजनीति र संस्कृत शिक्षा तथा बेलायतबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो ।

जोशीको साहित्यमा समेत रुचि थियो । विसं २०३२ सालमा ‘कथासङ्ग्रह’ निस्किएको छ । उहाँको उत्कृष्ट प्रकाशन प्रालिले विसं २०७४ वैशाखमा ‘अक्षर साधना र गोँधुली साँझ’ भन्ने आत्मकथासमेत प्रकाशन गरेको त्यसका अध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिनुभयो ।

जोशीको लगाम सामाजिक र शिक्षा क्षेत्रमा बढी रहेको थियो । आध्यात्मिक चिन्तक जोशीले युवराज्ञी हुँदा पूर्व रानी ऐश्वर्यलाई पढाउनुभएको रिमालले बताउनुभयो । तारागाउँ विकास समिति खडा गर्नमा उहाँको महत्वपूर्ण योगदान छ । पहिलो महिला क्याम्पस प्रमुख हुनुहुन्छ ।

रिमालका अनुसार उहाँ नेपाली नारीलाई शिक्षाको उज्यालो छर्न अथक प्रयास गर्नुभएको छ । विकृति–विसङ्गति हटाई आध्यात्मिक चेतना जगाउन उहाँले भूमिका खेल्नुभएको छ । शनिबार उहाँको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ ।