डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु

0
Shares

सुभेन्द्र दास, लहान ।

सिरहाको लहानस्थित एक पोलिक्लिनिकमा डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको छ । लहानका विभिन्न पोलिक्लिनिकमा हुने यस्ता घटना बेलाबेलामा बाहिर आइरहेको हुन्छ ।

शुक्रवार बिहान लहानस्थित लिला मदन पोलिक्लिनीकमा आएकी एक सुत्केरीको ज्यान गएको छ । सप्तरीको खडग नगरपालिका वडा नं। ३ बस्ने अन्दाजी बर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदन पोलिक्लिनीकमै शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ । शल्यक्रियापछि घर फर्किएकी खातुनको दुई वटा टाँका चुडिएपछि पुन अस्पताल आएकी थिइन् ।

दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने र यसका लागि थप ३० हजार रुपैयाँ लाग्ने अस्पतालले बताएको थियो । दोस्रोपटक शल्यक्रिया गरिएकी खातुनको ज्यान गएपछि क्लीनिकका डाक्टर डा. दिलिप साह फरार भएका छन् । पोलिक्लिनिकका संचालकले पीडित परिवारसँग गोप्य रुपमा कुरा मिलाउन खोजेको खुलासा समेत भएको छ ।

मृतकका आफन्तले पोलिक्लिनिक घेरेपछि त्यहाँको स्थित तनावग्रस्त भएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापाले जानकारी दिएका छन् ।