मौसम परिवर्तनको कारण हुने रुघा

0
Shares

डा. क्षितिज बराकोटी, प्राकृतिक चिकित्सक ।

मौसम परिवर्तन हुने बेलामा धेरै व्यक्ति बिरामी परेको हामी देख्छौं । गर्मी मौसमबाट जाडोयाम आइपुग्नुअगाडि, वर्षाकालको आसपास र जाडोबाट गर्मी लाग्ने बेलामा प्रायः नयाँ (एक्युट) रोगहरू बढ्ने, भाइरस, ब्याक्टेरिया, एक एवं बहुकोषीय कृमिहरू (अमिबा, जियार्डिया, जुका, चुर्ना आदि) को संक्रमण वृद्धि हुने र पहिल्यै भैरहेका पुराना रोगहरूले च्याप्ने हुन्छ । यस्ता मौसमी समस्याहरूले कतिपय अवस्थामा एकजनामा मात्र सीमित नभै एउटै परिवारका धेरैलाई एकैपटक थला पार्ने हुन्छ । कहिलेकाहीँ त एक परिवारमा मात्र सीमित नभई महामारीको रुपमा कैयौं परिवारमा रोग फैलिन्छ । रोगहरू पनि एउटा मात्र नभएर विभिन्नि किसिमका हुन सक्छन् ।

रुघा लाग्दा चिसो पेय वा अन्य चिसो कुराहरू खानुहुँदैन । यसरी नै दही, दूध, चिल्लो, माछा, मासु, अण्डा खानु ठीक हुँदैन । शुरुका दिनमा फलपूmल खाँदा पनि रुघा झन् बढी हुन्छ । तामा, फर्सी गोलभेंडा, तोरीको साग, तीते करेला, च्याउलगायत हरियो सलादले पनि रुघालाई च्याप्छ । तातो पानी मात्र पिउनुपर्छ ।

जीवनशैलीका केही नियमहरू पालना गर्ने र उपचार विधिहरू पनि अपनाउने गर्दा त्यस्ता रोगहरूलाई बेलैमा नियन्त्रण गर्न सकिन्छ । यसो गर्दा रोग जटिल अवस्थामा पुग्न पाउँदैन र महामारीको रुपमा फैलन सक्ने सम्भावनालाई पनि घटाउँछ । यस लेखमा मौसम परिवर्तनका कारण हुने रुघाखोकी र ज्वरोमा जीवनशैलीमा सुधार ल्याएर कसरी ठीक पार्ने भन्ने बारे चर्चा गरिनेछ ।

रुघाखोकीमा जीवनशैली

मौसम परिवर्तनका बेला हुने रुघाखोकी प्रायः सामान्य र सबै क्षेत्रमा हुने समस्या हो । रुघाखोकी अनेक कारणले लाग्ने हुन्छ । मौसम परिवर्तनमा यस्तो हुनुको प्रमुख कारण भाइरसको संक्रमण हुनु हो भने एलर्जीको लक्षणका रुपमा पनि यस्तो समस्या आउँछ । पुराना पिनास, नाकमा पोलिपको समस्या आदि पहिल्यै छ भने मौसम परिवर्तनका समयमा रुघाको रुपमा बल्झिने हुन्छ । साथै कुनै जटिल तीव्र रोगको संक्रमणको एकभाग वा लक्षणका रुपमा पनि यो देखा पर्छ । कमजोर, पुराना रोगका बिरामीहरू, वृद्ध व्यक्ति र बालबालिकाहरूमा रुघाका साथमा ज्वरो पनि आएको छ भने सतर्क हुनुपर्छ र शीघ्रताका साथ
उपचार गराउनुपर्छ ।

रुघाको साथमा आइपर्ने कतिपय लक्षण सामान्य हुन सक्छन् र कतिपय अति घातक एवं शीघ्ररुपले हानि पुर्‍याउने पनि हुन्छन्, जुन रुघाबाहेक अरु रोगको लक्षणका रुपमा आउँछन् ।

मौसम परिवर्तन हुँदा वा हुने बेलामा विभिन्न लक्षणका साथमा रुघाखोकी ज्वरो आउने हुन सक्दछ । यस्तो अवस्थामा केही दिनदेखि नै घाँटी खसखस हुने, जीउ सिरिंग हुने, ज्वरो आएको जस्तो हुने हाच्छ्युँ आउने, रुघा लाग्ने, नाकबाट पानी बग्नेबाट शुरु हुँदै पछि सिँगान बाक्लो हुने, ज्वरो आउने, घाँटी दुख्ने आदि लक्षणहरू हुन्छन् । ज्वरो केही दिनसम्म रहिरहन सक्छ । रुघाको उपचारमा ध्यान नदिएमा त्यसबाट थप समस्या आउन सक्छ । सामान्यतया रुघा ठूलो रोग होइन, सामान्य नियमहरूको पालना गरेमा यो आपैंm ठीक हुन्छ । तर रुघा लाग्दा जथाभावी गरेमा त्यसबाट जटिल खालका समस्याहरू आइपर्न सक्छ । रुघा बिग्रेमा पिनास हुने (पीप जम्ने), मासु बढ्ने, एलर्जी हुने, घाँटीका रोगहरू शुरु हुने, आँखा तथा टाउको दुख्ने जस्ता समस्या हुने गर्छन् । रुघामै बढी जोडले सिँगान फ्याँक्ने गरेमा त्यसबाट कानको जाली फुट्ने र श्रवण शक्ति पनि गुम्ने हुन्छ । रुघा बिग्रिएकै कारण कडा पिनास र कानको समस्या हुने लगायत रुघाबाट खोकी शुरु भई ब्रोङ्काइटिस दम तथा छातीको संक्रमण एवम् एलर्जीजस्ता समस्याहरू पनि आइपर्न सक्छन् । यसरी रुघाले अनेक समस्या ल्याउन सक्ने भएकोले यसप्रति ध्यान दिइहाल्नु जरुरी छ । कतिपय अरु रोगका कारण लक्षणका रुपमा आएको रुघा भएमा शीघ्र व्यवस्थापन नगर्दा घातक बन्न सक्दछ ।ध्यान दिनुपर्ने कुराहरू

मौसम परिवर्तन हुने बेलामा जीवनशैली व्यवस्थित गर्ने हो भने समस्या आउँदैन । यदि समस्या आइहाले पनि स्वस्थ जीवनशैली अपनाउँदा त्यो ठीक भैहाल्छ । तलका कुराहरूमा ध्यान दिऊँ ।

खानपान : रुघा लाग्दा चिसो पेय वा अन्य चिसो कुराहरू खानुहुँदैन । यसरी नै दही, दूध, चिल्लो, माछा, मासु, अण्डा खानु ठीक हुँदैन । शुरुका दिनमा फलपूmल खाँदा पनि रुघा झन् बढी हुन्छ । तामा, फर्सी गोलभेंडा, तोरीको साग, तीते करेला, च्याउलगायत हरियो सलादले पनि रुघालाई च्याप्छ । तातो पानी मात्र पिउनुपर्छ । रुघाको शुरुको दिनमा पानी मात्र पिएर उपवास गर्ने वा मुगको जाउलो खाँदा फाइदा हुन्छ । तातो पानीमा नून, बेसार र अदुवा मिसाई पकाउनुस् र पिउने बेलामा कागतीको रस राखी दिनको ५–६ गिलास पिउनुस् । पिप्ला, सुठो, अदुवा र मरिचलाई बराबर मात्रामा मिसाई सानो १ चम्चा बनाउनुस् र दिनको ३ पटक खाँदा रुघाखोकीमा लाभ हुन्छ ।

धूलो, धुवाँ, चिसो र खारबाट बच्ने : गुम्म परेको वा बढी हावा चल्ने ठाउँमा नबस्नुस् । धूलो र धुवाँबाट बच्नुस्, खार (पकाएको धुवाँ) आएको ठाउँमा नजानुस् । चिसोमा नहिँड्नुस् । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान–घाँटी छोप्ने र नाक एवम् मुख छोप्ने गरी मास्क लगाउनुस् ।

आराम गर्नुस् : रुघाखोकीमा धेरै यताउति डुलिराख्ने गर्नुहुँदैन । ज्वरो पनि आएको छ भने त पूर्णरुपले बेड रेस्ट गर्नुपर्छ । कतिपयलाई कामज्वरोजस्तो हुने हुँदा लुगा ओढ्ने गर्छन् तर ज्वरो कम गर्न शरीरलाई खुल्लै राख्ने गर्नुपर्छ । रुघा लागेमा चिसोले मुख धुने, नुहाउने र चिसो छुने काम नगर्नुस् । शारीरिक व्यायाम, बढी दौडधूप एवम् मैथुन नगर्नुस् । यात्रा गर्ने सकभर नगर्नुस् ।

ज्वरो घटाउन चिसो पट्टी : ज्वरो बढी आएमा पेटमा र नियन्त्रण नभएमा निधारमा पनि चिसो पट्टी राख्नुपर्छ ।

बाफ लिनुस् : रुघा शुरु हुनासाथ दैनिक ३–४ पटक तातो पानीको बाफ नाक र मुखबाट पालैसँग ५–७ मिनेटसम्म लिनुस् । भिक्स, नून केही नराखी बाफ लिनुस् । नाक बन्द छ भने नाक खुलाउने औषधि पनि राख्न सकिन्छ । तर यस्ता औषधिहरू लामो समय नाकमा हालिराख्नुहुँदैन ।

ज्वरो नभएमा तातोको प्रयोग : यदि ज्वरो छैन भने बाफ लिइसकेपछि नाक, घाँटी, छाती र ढाडमा तातोले १५–२० मिनेटसम्म सेक्नुस् । यसरी सेक्दा मेन्थोलयुक्त लेपनहरू (जस्तै– भिक्स, बाम, स्वीचो आदि) बाह्यरुपले छाती, घाँटी र ढाडमा दल्न सकिन्छ । यसका साथै बिहान–बेलुका २ पटक तातो पानीमा खुट्टा घुँडाभन्दा मुनिसम्म डुबाएर पटक–पटक तातो पानी थप्दै १५ देखि ३० मिनेटसम्म बस्नोस् । यसरी तातो पानीमा खुट्टा डुबाउने गर्दा फाइदा हुन्छ तर रिंगटा लागेको छ भने गर्नुहुँदैन ।

उपवास उपयोगी : तातो पानी मात्र पिएर दिनभर उपवास गर्ने हो भने पनि फाइदा हुन्छ । ज्वरोमा यस्तो गर्दा प्रभावकारी हुन्छ ।

नियम पालना : रुघा नबिग्रियोस् भन्नाका लागि केही नियम पालना गर्नुपर्छ । जस्तो कि बेस्सरी सीँ–सीँ गरेर सिँगान फ्याँक्ने, नाक कोट्याइरहने, नाकभित्र औंला छिराउने र बढी सिँगान पुछिरहने गर्दा नाकमा मासु बढ्ने, हाड बांगिने, फोहोर साइनसतिर जाने र कानको जाली फुट्ने इत्यादि समस्या आइपर्ने हुन्छ ।

घरेलु औषधि : रुघा निको पार्न तोरीको तेलमा ५–७ केस्रा लसुन काटेर फुराउने र कालो पार्ने, सेलाएपछि उक्त तेल (लसुन होइन) नाकमा ५–६ थोपा दिनको ३–४ पटक हाल्ने एवम् छाती, ढाड, निधार र घाँटीमा पनि दल्ने गर्नुस् । बच्चाहरूलाई रुघा लाग्नासाथ यही प्रक्रिया अपनाउनुस्, तुरुन्तै फाइदा हुनेछ । ज्वानो, अदुवा, जीरा, मरिच, बेसार आदि गरम मसलाहरू पानीमा पकाएर पिउँदा रुघाखोकी घट्न सहयोग मिल्छ । माथि भनिएका विभिन्न विधिहरूको पनि प्रयोग गर्नुहोस् । यसरी नै नून मिसाइएको मनतातो पानीले नाक सफा गर्ने, बाफ लिने, विभिन्न अक्युप्रेसर, मसाज तथा अन्य प्राकृतिक औषधिहरूको समेत प्रयोग गर्न सकिन्छ ।

रुघामा सावधानी : यदि रुघा लागेको १–२ हप्तामा ठीक नभएमा, लामो समयसम्म रुघा लागिरहेमा, रुघा लाग्दा छालामा कुनै दाग, खटिरा चिलाउने डाबर आदि आएमा, छाती घ्यारघ्यार भई खोकी लागेमा, पिसाब खराब भएमा, राति मात्र ज्वरो आएमा, लगातार ज्वरो आउने आदि लगायत अन्य लक्षणहरू उत्पन्न भएमा त्यो रुघा मात्र नभई अरु समस्या भएको पनि हुन सक्छ । रुघाको साथमा आइपर्ने कतिपय लक्षण सामान्य हुन सक्छन् र कतिपय अति घातक एवं शीघ्ररुपले हानि पु¥याउने पनि हुन्छन्, जुन रुघाबाहेक अरु रोगको लक्षणका रुपमा आउँछन् । त्यसैले सामान्य नियमहरू पालना गर्दा रुघामा आराम नभएमा र लक्षणहरू छिटो अनि बढी च्याप्ने खालका भएमा बिरामीले तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ ।