तनहुँमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो, जिल्लाभर ८४५ जना क्वारेन्टाइनमा

0
Shares

मिला दरै, तनहुँ ।

एकै दिन शुक्रबार तनहुँमा थप १७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

घिरिङ गाउँपालिकाका स्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयको क्वारेन्टाइनमा रहेका १७ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गाउँपालिकाका तीन महिला र १४ पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ४३ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै भारतको सिमाक्षेत्रबाट उद्दार गरिएका हुन् । २७, २४, २९ वर्षीया तीन महिला र ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ उमेर समुहका १४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमित सबैलाई शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रको आइसोलेशनमा राखी उपचार गरिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले बताउनुभयो । ‘जीपी कोइराला स्वास्थ्य उपचार केन्द्रमा २९ शैय्याको रहेपनि थप गरेर राख्ने भएको छ, बेड थप्दै राखेर उपचार गरिन्छ,’ अधिकारीले भन्नुभयो ।

बिहीबार मात्रै ऋषिङ गाउँपालिकाका सात, भानु नगरपालिकाका चार, व्यास नगरपालिकाका तीन र शुक्लागण्डकी नगरपालिकाका एक जना पुरुष गरी तनहुँमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार थपिएका १७ जना सहित तनहुँमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

यस्तै, जिल्लाका पहिलो र दोस्रो संक्रमित ऋषिङ गाउँपालिकाका २८ र ४० वर्षका दुई पुरुष भने निको भएर घर फर्किसकेका छन् । जिल्लामा बिहीबार पुष्टि भएका १५ जना संक्रमितलाई दमौली अस्पताल अस्पताल अन्तर्गतको आइसोलेशनमा राखिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्थामा सामान्य रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो ।

यसअघिका संक्रमितहरुलाई शुक्लागण्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ । यस केन्द्रमा राखिएका दुई जना पुरुष निको भएर घर फर्किसकेका छन् । हाल जीपीको आइसोलेसनमा नौ जना रहेकामा १७ जनालाई पनि यही राखिने भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए ।

कोरोना संक्रमित पाँच स्थानीय तहमा

जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँच स्थानीय तहका नागरिकमा कोरोना पुष्टि भएको छ । पाँच वटा स्थानीय तहमा भने अहिलेसम्म कोरोना पोजिटिभ देखिएको छैन ।

हालसम्म जिल्लाको घिरिङ गाउँपालिकामा २३ जना, ऋषिङ गाउँपालिकामा १० जना, भानु नगरपालिकामा चार जना, व्यास नगरपालिकामा तीन जना, शुक्लागण्डकी नगरपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यससँगै १९ दिनको अवधिमा जिल्लामा संक्रमितको संख्या ४३ जना पुगेको छ भने २ जना पुरुष निको भएर घर फर्किएका छन् ।

जिल्लाभर ८४५ जना क्वारेन्टाइनमा

जिल्लाका १० वटै स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा बिहीबारसम्म ७४ महिला र ७७१ पुरुष गरी ८४५ जना बसेका छन् भने चैत्र महिना यता भारत लगायत अन्य मुलुकबाट १७७ महिला र एक हजार ९७९ पुरुष गरी दुई हजार १५६ जना नागरिक जिल्ला भित्रिएका छन् ।

जिल्लामा १०९ महिला र एक हजार २० जना पुरुष गरी एक हजार १२९ जनाको थ्रोट स्वाब नमुना संकलन गरी पिसिआर परीक्षणमार्फत् ४० महिला र ५२६ पुरुष गरी ५७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । २६ पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ५२७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।
तनहुँका १५ जना कोरोना संक्रमितलाई दमौलीको क्रियापुत्री भवनको आइसोलेसनमा राखिएको छ । व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाइएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तनहुँका १७ सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८० पुगेको छ ।