पर्वतका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, कुस्माबजार बन्द

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सदरमुकाम समेत रहेको कुश्मा बजारमा अत्याबश्यक बाहेक सबै ब्यबसाय र पसल बन्द भएका छन ।

कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना संगै समुदायमा समेत संक्रमण फैलन सक्ने भन्दै बजार बन्द गरिएको हो ।

पर्वत उद्योग बाणिज्य संघले बिज्ञप्ती प्रकाशन गरेर अत्याबश्यक बाहेक सबै उद्योग, ब्यबसाय बन्द गर्न आब्हान गरेको छ भने जिल्ला प्रशासन कार्यालय समेत अत्याबश्यक बाहेकका सेवा बन्द गर्न र घर बाहिर हिडडुल नगर्न आग्रह गरेको छ ।

पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले कोरोना समुदायमा फैलन सक्ने आशंकाले सचेत हुन अत्याबश्यक बाहेक सबै ब्यबसाय बन्द गर्न आब्हान गरिएको बताउनुभयो ।

अस्पतालमा उपचाररत बिरामीमा संक्रमण देखिएपछि पर्वत अस्पताल क्षेत्र सिल गरिएको छ । पर्वत अस्पताल रहेको वडा नं ५ बडागाउँ क्षेत्रसहित अस्पताल, माथिल्लो बजार जाने मुख्य सडकको मेलमिलाप चोकसम्मको क्षेत्र र तल्लो क्षेत्रमा बडा गाउँ चौर क्षेत्र नजिकै रहेको चण्डीका सशस्त्र प्रहरी बलको गण रहेको क्षेत्र सिल गरिएको छ । अस्पताल र आसपासको क्षेत्रमा प्रहरी तैनाथ गरेर सुरक्षा निकायका सवारी र एम्बुलेन्सलाई मात्र छिर्न दिइएको छ भने अन्य सबै प्रकारका सवारीसाधनहरू र पैदल यात्रीलाई पनि त्यस क्षेत्रमा जान निषेध गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख बिश्वराज अधिकारीले बताउनुभयो । निषेध गरिएको क्षेत्रलाई कहिलेसम्म कायम राख्ने निधो नभएको भए पनि पर्वत अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीहरूको पिसिआर परीक्षणको नतिजा नआएसम्म अर्को निर्णय नहुने देखिएको छ। सङ्क्रमण पुष्टि भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूसँगको सम्पर्कमा आएका कारण अन्य कर्मचारीहरूमा पनि सङ्क्रमण पुष्टि हुन सक्ने र कोरोना समुदाय स्तरमा फैलन सक्ने जोखिमका कारण सिल गर्नुपरेको हो। पठाइएका स्वाबहरूमा सङ्क्रमणको पुष्टि नभएमा भने बजार केही सहज हुन सक्नेछ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा ७ जना स्वास्थ्यकर्मीहरूको स्वाब परीक्षणका लागि पठाइएकोमा तीमध्येका ५ जना २ चिकित्सक, १ नर्स, १ ल्याब असिस्टेन्ट र १ कार्यालय सहयोगीमा सङ्क्रमणको पुष्टि भएको थियो। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माको निर्देशनमा सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी र कर्मचारीहरूको स्वाब सङ्कलन गरी स्वास्थ्य निर्देशनालय पोखरामा पठाइएको छ। सँगसँगै उनीहरू सङ्क्रमितको उपचारपछि फर्किएर बसेको क्वारेनटाइन र पुगेका ठाउँ तथा उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्दै ट्राभल र कन्टयाक्ट हिस्ट्री पनि खोज्न थालिसकिएको छ।

अहिले सम्म ८१ जना स्वास्थ्यकर्मी, आफन्त समेतको स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । आजै परिक्षण गरेर साँझ सम्म रिर्पोट बाहिर आउने छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले क्षेत्रीय स्वास्थ्य निर्देशनालयको टोली सहितको सल्लाहमा आवश्यक रणनीति तयार पारेर जोखिम नियन्त्रणमा लाग्ने बताउनुभयो।