सुदूरपश्चिममा कोरोनाका कारण ४ को मृत्यु


बैतडी, (नेस)

कोरोना भाइरसको संक्रमणका सुदूरपश्चिममा मृत्यु हुने संख्या ४ पुगेको छ । बुधबार कैलालीमा थप २ जनामा कोरोना संक्रमणले मृत्यु भएको पुष्टि भएसँगै सुदूरपश्चिममा मृतकको संख्या ४ पुगेको हो ।

कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । शनिबार पुष्टि भएका स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

यसअघि बुधबार नै नेपालगन्ज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलबार मृत्यु भएको थियो । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको खजिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा मृत्यु भएकी बाजुराको बूढीगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाको गत जेठ १८ मा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै कैलालीको धनगढी उप–महानगरपालिका–४ महिमा टोलकी ५५ वर्षीया महिलाको डायलासिस गराउने क्रममा मृत्यु भएकी महिलामा पनि जेठ २४ गते कोरोना पुष्टि भएको थियो ।