युद्ध अपराध भएको भन्दैै चिनियाँ र भारतीय दूतावास नजिक प्रदर्शन


काठमाडौं, (नेस)

युद्ध अपराध हो भन्ने स्मरण गराउँदै मानवअधिकार तथा शान्ति समाजले बिहीबार काठमाडौंस्थित चिनियाँ र भारतीय दूतावास नजिकै प्रदर्शन गरेको छ ।

चिनियाँ र भारतीय सेनाबीच हालै भारत नियन्त्रित लद्दाखका गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौं सैनिक हताहत र घाइते भएका थिए ।

एसियाका दुई भीमकाय मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दुःखद हुनुका साथै दक्षिण एसिया र विश्व शान्तिकै लागि पनि खतरा भएको भन्दै चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न, वार्ताबाटै समस्याको समाधान खोज्न, आवेग होइन विवेकको प्रदर्शन गर्न, उत्तेजनालाई बढाउने होइन समझदारीलाई विस्तार गर्न र युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रहसहित प्रदर्शन गरिएको थियो ।

चिनियाँ दूतावास अगाडि भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य नम्रता खरेल, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, उपसभापति नानीकाजी गिरी, सचिव ईश्वर पुडासैनीसहित दर्जनौ शान्तिवादीको सहभागिता थियो ।

यसैगरी भारतीय दूतावास नजिक भएको प्रदर्शनमा शान्ति समाजका सभापति उत्तम पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जरासहित दर्जनौं शान्तिवादीको सहभागिता थियो ।