औषधि खरिद प्रक्रियामा सेना अलमल


नेपाल समाचारपत्र, काठमाडौं

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका बिभिन्न देशबाट मेडिकल सामान खरिद प्रक्रियाबाट नेपाली सेना बाहिरिएको छ ।

नेपाली सेनाको समन्वयमा खरिद गरिएको १ अर्वभन्दा बढीको सामानमा सेनाले समेत अनियमितता गरेको भन्दै समाचारहरु सार्वजनिक भएपछि सेनाले उक्त खरिद प्रक्रियाबाट आफूलाई अलग राख्न खोजेको छ ।

कोरोना संक्रमण नियन्त्रणमा ध्यान दिइरहेको सेनालाई बिवादमा पार्न खोजेपछि उसले खरिद प्रक्रियाबाट आफूलाई अलग राख्न लागेको हो ।

विवादमा परेको ओम्नी समूहमार्फत स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको व्यापक आलोचना भएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले औषधि खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्नुभएको थियो ।

विभागीय मन्त्रीको निर्णयअनुसार सेनाले खरिद गरेर ल्याएको सामानको समेत मूल्य उच्च भएको भन्दै सेनामाथि विभिन्न टिप्पणी हुन थालेपछि सैनिक नेतृत्व सामान खरिद प्रक्रियाबाट बाहिरिने भएको हो ।

सेनाले चीनबाट ६७ वटा शीर्षकमा विभिन्न प्रकारका मेडिकल सामग्री खरिद गरी नेपाल ल्याएको थियो । सेनाले चिनियाँ सेनासँग समन्वय गरी गत वैशाखको पहिलो साता सम्झौता गर्दै जेठ ३ गते पहिलोपटक स्थलमार्ग हुँदै मेडिकल सामग्री नेपाल ल्याएको थियो ।

साथै सेनाले नेपाल एयरलाइन्सको जहाजमार्फत पनि दुईपटक मेडिकल सामग्री नेपाल ल्याइसकेको छ । सेनाले खरिद गरेको सामान चिनियाँ सेनाको बायुयानले एकपटक नेपाल ल्याइदिएको थियो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानराज पाण्डेले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले औषधि खरिद प्रक्रियाका सम्बन्धी आएका समाचारबारे आफूले केही बताउन नसक्ने जानकारी दिनुभयो ।