राष्ट्रिय सभाबाट सर्वसम्मतले संशोधन विधेयक पारित


काठमाडौं, (नेस)

राष्ट्रिय सभाले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७’ लाई सर्वसम्मत पारित गरेको छ । राष्ट्रिय सभामा बिहीबार उपस्थित कुल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गर्नुभएको थियो ।

राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा सहभागी हुनुभएन । सभामा बाँकी रहेका एक सदस्य भने मनोनयन भएको छैन ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि अध्यक्ष तिमिल्सिनाले मत विभाजनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुभएको थियो ।

राष्ट्रिय सभाको बैठक कक्षको लबीमा तयार पारिएको मत विभाजनका लागि ‘हुन्छ’ भन्नेहरूलाई एकातिर र ‘हुन्न’ भन्नेहरूलाई अर्काेतिर मतदानका लागि प्रवेश गर्न आग्रह गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसद एउटै लाममा रहनुभएको थियो ।