वालुवाटारमा सत्ता पक्ष र प्रतिपक्षबीच वार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच वालुवाटारमा विवादित विषयमा सहमति जुटाउन अहिले छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन नागरिकता विधेयक र एमसीसीमा सहमति जुटाउने प्रयास स्वरुप छलफल गर्नुभएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता र प्रतिपक्षी नेताहरुबीच अहिले छलफल जारी छ ।

छलफलमा प्रधानमन्त्री ओलीसहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् भने प्रमुख प्रतिक्षी नेपाली काँग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि, नेताहरु कृष्णप्रसाद सिटौला, डा।मिनेन्द्र रिजाल र ज्ञानेन्द्र बहादुर कार्की सहभागी रहनुभएको छ ।

नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा२०७५ साल भदौ ५ गतेदेखि विचाराधीन छ । बुधबारमात्रै प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा ५ दिनभित्र सहमति कायम गर्न सरकारलाई निर्देशन दिएको थियो ।

नागरिकताका विषयमा काँग्रेस सांसदहरु विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने पक्षमा उभिएका छन् भने नेकपाका सांसदहरु सात वर्षअघि नागरिकता दिन नहुने पक्षमा छन् । छलफलमा नागरिकता विधेयकबाहेक एमसीसी र कोरोना रोकथामको विषयमा कुराकानी भइरहेको बताइएको छ ।