झापा कारागारको जिम्मा सेनालाई

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

झापा कारागार भद्रपुरको सुरक्षामा नेपाली सेना खटिएका छन् । कारागारको सुरक्षामा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो । चारआराली स्थित नयाँ श्रीनाथ गणबाट खटिएका नेपाली सेनाले कारागारको जिम्मा लिएको बताइएको छ ।

भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको लागि सेनालाई दिइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समिति अन्तर्गत बाहिरी सुरक्षा सेनाले गर्ने र प्रहरीले आन्तरिक अत्यावश्यक काम समन्वय गरी मिलाइने नयाँ श्रीनाथ गणका कर्णेल अमरजगं थापाले जानकारी दिनुभयो ।

कारागारमा रहेका प्रहरीले कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने ल्याउने, भेटघाटको व्यवस्थापन गर्ने बताइएको छ । हाल कारागारमा महिला तथा पुरुष कैदी बन्दी गरी १ हजार १४० जना रहेका छन् । यसअघि झापामा नेपाली सेनाको टोली काँकडभिट्टाको सीमा नाका, कचनकवल, भद्रपुरको मेची क्याम्पस र कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेन्टाइनमा खटाइएको छ ।