नेपालमा कोरोना संक्रमितको संख्या असार अन्तिमसम्म ४० हजार पुग्न सक्ने !


न्युज अफ नेपाल, काठमाडौँ ।

आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने तयारी सरकारको छ । कोरोना संक्रमितको पहिचान गर्नकै लागि परीक्षणको दायरा फराकिलो बनाउन लागिएको हो ।

गत वैशाख १० सम्ममा ४५ मात्र रहेको संक्रमितको संख्या अहिले आएर सात हजार नाघेको छ । यो संख्या जुलाई महिनाको पहिलो सातासम्ममा करिब दस हजार पुग्नसक्ने नेपाली विद्यार्थीहरुको एउटा समूहले हालै प्रकाशन गरेको शोधपत्रमा आकलन गरिएको छ । अन्य देशमा देखिएका संक्रमण वृद्धिको दर हेर्दा पनि यो आंकलन सही हुने अनुमान सहजै लगाउन सकिन्छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले गरेको एक आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने संकेत गरेको छ । असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको हो।

त्यस्तै आगामी कात्तिकसम्म ६ लाखदेखि १० लाखसम्म मानिसको परीक्षण गर्ने तयारीमा लागेको स्वास्थ्य मन्त्रालयको स्रोतले बताएको छ ।

कोरोना संक्रमण फैलिन नदिन मास्कको प्रयोग गर्ने, भिडभाडबाट टाढै रहने, नियमित साबुनपानीले हात धुने आदि गर्न आवस्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ७१७७ जना संक्रमित देखिएका छन् भने २० जनाको मृत्यु भएको छ । ११६७ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ३ लाख ८३ हजार ३ सय १५ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ४९ हजार ७ सय ७२ जनाको पिसिआर र २ लाख ३३ हजार ५ सय ४३ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।