पत्रकारलाई प्रशासनले धम्क्याएकोमा आपत्ति

0
Shares

न्युज अफ नेपाल, स्याङ्जा ।

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघ र प्रेस युनियन स्याङ्जाले आपत्ति जनाएका छन् ।
नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका सदस्य तथा नेपाल समाचारपत्र दैनिकका पत्रकार भूपराज बस्याललाई गल्याङका स्वास्थ्य शाखा प्रमुखले गरेको आत्महत्याका सम्बन्धमा प्रकाशित समाचारलाई लिएर प्रशासनले धम्क्याएका कारण महासंघले आपत्ति जनाएको हो ।

स्थानीय प्रशासनले प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई सोधपुछ गरेको घटनाप्रति यी सस्थाले विज्ञप्ति प्रकाशित गरी प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई हतोत्साहित बनाउने गरी सोधपुछ गरिनु आपत्तिजनक छ भनेका छन् ।

नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले जारी गरेको विज्ञप्ति स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई हस्तान्तरण गर्दै सत्तारुढ पार्टीको तर्फबाट स्थानीय निकायमा निर्वाचित पदाधिकारीको दवावमा प्रहरी प्रशासनले गरेको व्यवहार आपत्तिजन हो भनिएको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी समाचारको विषयलाई लिएर स्थानीय प्रशासनले पत्रकारलाई धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।