यी हुन् नागरिकता विधेयकमा विवाद

नागरिकता विधेयक सहमति जुटाउन सरकारलाई पाँच दिनको समय


नेपाल समाचारपत्र, काठमाडौं

लामो समयदेखि छलफल भए पनि सहमति जुट्न नसकेको नागरिकता विधेयकलाई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले पुनः अगाडि बढाएको छ । विवादमा सहमति जुट्न नसक्दा लामो समयदेखि विधेयक समितिमै अड्किएको छ ।

गत वर्ष नै संसद्मा लैजान तयारी गरे पनि समितिकै सदस्यबीच विवाद भएपछि विधेयक अलपत्र परेको थियो । विधेयकमा सहमति जुटाउन समितिका सभापति शशी श्रेष्ठले प्रमुख दलका शीर्ष नेतासँग संवाद अगाडि बढाउँदै समितिको बैठकलाई समेत निरन्तरता दिनुभएको छ । समितिले निर्णय गर्न नसकेपछि शीर्ष राजनीतिक नेतृत्वबाटै समाधान खोज्ने गृहकार्य शुरु भएको छ ।

राज्य व्यवस्था समितिले नागरिकता विधेयकबारे सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमतिपत्र दिने प्रस्तावमा पेस भएको थियो ।

समितिमा सत्तारूढ दल नेकपा र प्रमुख प्रतिपक्ष दलका सांसदहरुबीच आ–आफ्नै अडानको कारण सहमति जुट्न सकेको छैन् । समितिमा मंगलबार प्रस्तुत गरिएको प्रस्तावमा सत्तारूढ दल नेकपाले समर्थन जनाए पनि कांग्रेसले विरोध जनाएको छ ।

बुधबार बसेको समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे राजनीतिक तहमा सहमति जुटाउनुपर्ने भन्दै समय माग्नुभएको थियो । गृहमन्त्रीले समय मागेपछि समितिका सभापति श्रेष्ठले सहमति जुटाउन ल्याउन भन्दै पाँच दिनको समय दिनुभएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव नमान्ने निर्णय गरेको छ । बुधवार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले अहिले भएकै व्यवस्थाको पक्षमा उभिने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका सह–महामन्त्री डा. प्रकाशशरण महतले संविधानमा नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने भनिएको उल्लेख गर्दै यति नै वर्ष भनेर सर्त नराखिएको बताउनुभयो । बुधवारको बैठकमा समितिमा रहेका कांग्रेसका सांसदहरुले पार्टीले गरेको निर्णयअनुसारकै अडान राखेका थिए ।

यी हुन् नागरिकता विधेयकमा विवाद

२०७५ साउन २२ गतेदेखि नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ । संविधानको व्यवस्थाअनुसार मौजुदा ऐन परिमार्जनका लागि ल्याइएको विधेयकका केही विषयमा सहमति नहुँदा अगाडि बढेको छैन ।

नागरिकता विधेयकमा सरोकारवाला पक्षसँगको लामो छलफलपछि समितिले विवादित विषयमा राजनीतिक सहमतिका लागि उपसमिति गठनसमेत गरेको थियो । तर मूल विवादमा सहमति जुटाउन सकेन । वैवाहिक अंगीकृत नागरिकताको विषयमा विवाद छ । नागरिकता वितरणका लागि टोली खटाउनेसम्बन्धी प्रस्तावित व्यवस्थामा समेत विवाद छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा अझै २ वटा विषयमा सहमति जुट्न सकेको छैन । मूल ऐनको दफा ५ तथा प्रस्तावित विधेयकको दफा ४ मा रहेको विदेशीसँगको बिहेमा अंगीकृत नागरिकता प्राप्तिको विषयमा सहमति जुट्न सकेन भने मूल ऐनको दफा २२ मा रहेको नागरिकता टोली खटाउन सक्ने दफा हटाउने कि नहटाउने भन्नेमा विवाद कायम रहेको हो ।

नेपाली पुरुषसँग विदेशी महिलाले बिहे गरेको अवस्थामा नागरिकता प्राप्तिको समय ७ वर्ष राख्ने एउटा प्रस्तावमा समितिमा सहमति जुट्न सकेको छैन् । ज्वाइँलाई १५ वर्ष र बुहारीलाई ७ वर्ष समय राख्ने प्रस्ताव विधेयकमा समावेश गरिएको छ ।