बंगलादेशमा रहेका विद्यार्थीलाई तत्काल नेपाल ल्याउन सर्वोच्चको आदेश


  • विकास भट्टराई, काठमाडौं

बंगलादेशमा रहेका स्वदेश फर्कन चाहने नेपाली विद्यार्थीलाई तत्काल घर फर्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कोभिड–१९ का कारण अप्ठेरोमा परी स्वदेश फर्कन चाहने बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई तत्काल घर फर्काउन अन्तरिम आदेश दिएको हो ।

कोभिड–१९ को संक्रमण भएपछि बगलादेशमा पढाई पनि बन्द भएको र त्यहाँ रहेका नेपाली विद्यार्थीहरु अलपत्र परेका उल्लेख गर्दै जनहित मञ्चका वरिष्ठ अधिवक्ता प्रकाश मणि शर्माले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्चले बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न मंगलबार सरकारको नाममा अन्तरिम आदेश दिएको भएपनि त्यसको लिखित ब्यहोरा बुधबार मात्र आएको हो । आदेशमा बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु कोभिड–१९ कारण अप्ठेरोमा परी घर फर्कन चाहनेलाई स्वदेश फर्कने आवश्यक तत्काल मिलाउन भनिएको छ ।

स्वदेश फर्किएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य परीक्षण गरी उनीहरुलाई क्वारेन्टाइनमा राख्न पनि आदेशमा भनिएको छ । क्वारेन्टाइनमा राखेका निर्धारित समय वितेपछि बंगलादेशबाट फर्किएका विद्यार्थीलाई अभिभावकको जिम्मा लगाउनु भनी आदेशमा उल्लेख गरिएको छ ।

आदेशमा भनिएको छ– ‘बंगलादेश वा जुनसुकै देशमा अध्ययनरत नेपाली विद्यार्थीहरु उनीहरुको परिवारका लागि मात्र नभएर नेपाल राष्ट्रका भविष्यका कर्णधार र अमूल्य निधि हुन् । उनीहरुको जीवन र स्वास्थ्यको सुरक्षा गर्नु राज्यको कर्तव्य हो । बंगलादेशमा हाल पाँच सय नेपाली अध्ययनरत रहेका रिट निवेदनमा जनाइएको छ । उनीहरुमध्ये धेरैजसो खर्च तथा खानेकुरा पनि सकिएर अप्ठेरो स्थितिमा परेका जनाइएको छ ।

ती विद्यार्थीहरुले आफूहरुलाई स्वदेश फर्काउन टेलिफोन गरी नेपाल सरकार तथा स्थानीय राजदूतावासलाई पनि आब्हान गरेका भएता पनि हालसम्म त्यसको कार्यान्वयन भएको छैन । कोभिड–१९ का कारण बंगलादेशको सरकारले आगामी सेप्टेम्बरसम्म सम्पूर्ण पठन पाठन बन्द गरेको बताइएको छ । कतिपय नेपाली विद्यार्थीले आफू नेपाल फर्कनको लागि न्युनतम खर्च ब्यहोर्ने पनि उल्लेख गरिरहेका छन् ।

कोभिड–१९ को महामारीबाट विदेशमा आक्रान्त भइरहेका आफ्ना नागरिकलाई छिटो भन्दा छिटो उद्धार गरी आफ्नो देश फिर्ता लैजाने कार्यमा विश्वका धेरै राष्ट्रहरुले कार्य गरिरहेको भनी सर्वोच्चले सरकारलाई आदेशमा स्मरण गराएको छ । नेपालले चीनलगायत केही राष्ट्रबाट आफ्ना नागरिक ल्याएको पनि सर्वोच्चले जनाएको छ ।

सर्वोच्चको आदेशमा नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कानूनको दृष्टिमा समानताको अधिकार, स्वतन्त्रताको अधिकार र आधारभूत स्वास्थ्यसम्त्रन्धी अधिकारको उपभोगबाट बंगलादेशमा अप्ठेरोमा परी बसेका नेपाली विद्यार्थीलाई बन्चित गर्न नमिल्ने स्पष्ट गरिएको छ । सर्वोच्चले बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन आनाकानी गर्नुको कारण पेश गर्न पनि सरकारलाई आदेश दिएको छ ।