सिमानाकामा बीओपी राख्दै सशस्त्र प्रहरी

सेना प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखद्वारा सीमा अनुगमन


  • किरन धामी, दार्चुला

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार दार्चुलाको उत्तरी सीमा क्षेत्रको अनुगमन निरीक्षण गर्नुभएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार बिहान दार्चुला पुग्नुभएका प्रधान सेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनालले भारतसँग सीमा जोडिएको ब्याँस गाउँपािलका‐१ छाङ्गरु पुगेर सीमा क्षेत्रको स्थलगत अनुगमन निरीक्षण गर्नुभएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजाविक्रम थापाले जानकारी दिनुभयो ।

यस्तै प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनालले गत वैशाख ३१ गते ब्याँस‐१ छाङ्गरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी र नेपाली सेनाले निर्माण गरिरहेको ब्याँस‐२ घाटीबगडको घोरेटो बाटोको अनुगमन निरीक्षण गर्नुभएको उहाँले बताउनुभयो ।

सेनाले नेपालको बाटो भएर ब्याँस क्षेत्र जानका लागि घाटीबगड क्षेत्रमा घोरेटो बाटो निर्माण गरिरहेको छ । विगत ४/५ हप्ता अघिदेखि निर्माण कार्य शुरु गरेको सेनाले १ सय मिटर बाटो निर्माण गरिसकेको गुल्मपति थापाले बताउनुभयो ।

असार मसान्तसम्ममा निर्माण गरिसक्ने जिम्मेबारी पाएको सेनाले थप ३ सय ५० मिटर बाटो निर्माण गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । प्रधान सेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनालले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षाका विषयमा छलफलसमेत गरेको उहाँको भनाइ छ ।

बीओपीको अनुगमन निरीक्षण गरी दार्चुलाको खलंगा फर्केका महानिरीक्षक खनालले छाङ्गरुका स्थानीयले बीओपी स्थापनापछि सुरक्षित महसुस गरेको प्रतिक्रिया दिनुभएको छ । साथै सशस्त्र प्रहरी महानिरीक्षक खनालले छाङ्गरुमा बाह्रै महिना सशस्त्र प्रहरी राख्न भौतिक संरचना निर्माणको प्रक्रिया शुरु भएको बताउनुभएको छ ।

निकट भविष्यमै दार्चुलाको खलंगामा सशस्त्र प्रहरीको गण र ब्याँसको छाङ्गरुमा गुल्म स्थापना गरी भारतसँग सीमा जोडिएका सबैजसो सिमानाकामा बीओपी राख्ने सशस्त्र प्रहरीको कार्ययोजना रहेको उहाँको भनाइ छ ।

सशस्त्र प्रहरीले दार्चुलाको लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजीवी र ब्याँसको दुम्लिङमा बीओपी राख्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १ सय २५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमा निगरानी गरिरहेको महानिरीक्षक खनालले बताउनुभयो । ‘सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकलाई सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी रातदिन खटिरहेको उहाँको भनाइ थियो ।

यसैबीच महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्नुभएको छ । आर्थिक वर्ष २०७३/०७४ मा निर्माण सम्पन्न भवनको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनमा पुगेका महानिरीक्षक खनालले सीमा रक्षाका साथै सशस्त्र प्रहरीले पाएका अन्य जिम्मेवारी पूरा गर्न निर्देशनसमेत गर्नुभएको छ ।