नेपालका ३५ विद्यालयमा मोबाइलबाट पढाई



  • न्युज अफ नेपाल, हेटौंडा

मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेको पशुपतिनाथ माविले मोबाइल फोनबाट विद्यार्थीलाई पढाउने काम सुरु गरेको छ । विद्यालयमा आएर पढ्ने वातावरण कोरोना भाइरस (कोभिड–१९) का कारण सम्भव नभएको र इन्टरनेटको पहुँच नभएका कारण मोबाइलबाट पढाउन सुरु गरिएको हो । यतिबेला नेपालका सबै विद्यालय बन्द छन् ।

पशुपतिनाथ माविजस्तै नेपालका ३५ वटा ग्रामीण क्षेत्रका विद्यालयले मोबाइल फोनको माध्यमबाट पठनपाठन सुरु गरेका छन् । करिब दुई साता अघिदेखि सुरु भएको यस प्रकारको कक्षा नेपाल दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा विकास अनुसन्धान प्रतिष्ठान नामक गैरसरकारी संस्थाले संयोजन गरिरहेको छ ।

सात वटै प्रदेशका ५÷५ विद्यालयमा परीक्षणका रुपमा सुरु गरिएको मोबाइल फोन सम्पर्कका माध्यमबाट गरिएको सिकाइलाई ब्यापक बनाउन नसकिए पनि पढाइमा रुचि भएका बालबालिका हरेक दिन शिक्षकको सम्पर्कमा छन् ।बालबालिकाको सिकाइ प्रभावित भएको अबस्थामा सरकारले असार १ गतेबाट वैकल्पिक विधिबाट सिकाइ शुरु भएको घोषणा गरेको छ ।

प्रविधि पहुँच भएका स्थानका विद्यालयले प्रविधिको प्रयोग गरिरहेका छन् ।प्रतिष्ठानले नेपालका बिकट क्षेत्रमा रहेका ३५ विद्यालयका शिक्षकको मोबाइलमा ब्यालेन्स हालिदिएको छ । विद्यार्थीले शिक्षकलाई मिसकल गर्छन् र शिक्षकले विद्यार्थीलाई कलब्याक गर्छन् ।

अभिभावक र बालबालिका साथमै भएको समयमा अभिभावकको मोबाइलबाट बालबालिकाले शिक्षकलाई मिस्कल गर्ने यो विधि इन्टरनेटको पहुँच नभएका ग्रामीण क्षेत्रका लागि प्रभावकारी बनेको छ । शिक्षकलाई जुम मिटिङ गरेर तालिम दिएपछि उक्त विधि सुरु गरिएको पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिनुभयो ।

सुरुमा गणित, विज्ञान र अंग्रेजी विषय शिक्षकलाई तालिम दिइएको थियो ।स्वचालित सम्पर्कबृक्षमार्फत् सिकाइ र पठनपाठनका लागि प्रतिष्ठानले ३५ विद्यालयका प्रधानाध्यापकलाई तालिम दिएको प्रअ आचार्यले बताउनुभयो । विद्यालयले यतिबेला बालबालिकालाई नयाँ पनि पुस्तक बितरण गरिरहेका छन् ।

मकवानपुरका सामुदायिक तथा व्याबसायिक रेडियोहरुले पनि कक्षा सञ्चालन गरिरहेका छन् । प्रविधिको पहुँच भएका विद्यालयमा भने जुमक्लाउड, म्यासेन्जर वा यस्तै अन्य एप प्रयोग पनि भइरहेको छ । सरकारले पहँुचका आधारमा विद्यार्थीलाई ५ वर्गमा विभाजन गरी जारी गरेको निर्देशिकाका आधारमा नेपालका धेरै विद्यालयले वैकल्पिक सिकाइ शुरु गरेका छन् ।

सरकारले निर्देशिका जारी गर्नुअघि कतिपय निजी विद्यालयले अनलाइन विधिबाट पठनपाठन शुरु गरिसकेका थिए । सरकारले औपचारिक शुरुवातको घोषणा गरे पनि कतिपय सामुदायिक विद्यालयका विद्यार्थी अझै सिकाइमा जोडिन कठिन देखिन्छ । औसतमा हेर्दा शहर केन्द्रित बालबालिका स्वभाविकरुपमा प्रविधि पहुँचमा देखिन्छन् । शहर केन्द्रित निजी विद्यालयलाई प्रविधि पहुँच असहज नहोला तर, ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा प्रविधिको पहुँच कमजोर छ ।

प्रतिक्रिया दिनुहोस्