नेपालमा कोरोना संक्रमणको जोखिममा स्वास्थ्यकर्मी


न्यूज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना संक्रमणका कारण ६ हजार ५ सय ९१ जना संक्रमित भएका छन् भने २० जनाको मृत्यु भैसकेको छ । १ हजार १ सय ५८ जना निको भएर घर फर्किसकेका छन् । परिक्षणको दायरा फराकिलो बनाउँदै जाने क्रमसँगै संक्रमितको संख्यापनि पढ्दो छ । यसमा संक्रमित हुने सर्वसाधारण मात्र नभै फ्रन्टलाईनमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुँदैछन् ।

महामारीसँग लड्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोनाको जोखिम उच्च छ । संक्रमित मध्ये ३४ जना स्वास्थ्यकर्मी पनि रहेको पुष्टि भएको छ । पछिल्लो रिपोर्ट अनुसार सात स्वास्थ्यकर्मी संक्रमित भएको पुष्टि भएको छ । त्यसमा जेठ ३२ गते डडेल्धुरा अस्पतालमा कार्यरत नर्समा पोजेटिभ देखिएको थियो।

त्यसै दिन पर्सामा १ स्वास्थ्य सहायक, ३ अहेब र १ अनमी गरी ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । त्यस्तै सोमबार असार २ गते सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्समा पनि पोजेटिभ देखियो ।

मंगलबारसम्म संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीमा ४ चिकित्सक, १२ नर्स, ४ हेल्थ असिस्टेन्ट, २ ल्याब टेक्निसियन, १ फर्मासिस्ट, ५ कम्युनिटी मेडिसिन असिस्टेन्ट, ३ अहेब र ३ अनमी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रदेश नम्बर १ मा चार स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । संक्रमित चारैजना जिल्ला अस्पताल धनकुटामा कार्यरत हुन् । त्यसमध्ये दुई हेल्थ असिस्टेन्ट र दुई नर्स भएको बुझिएको छ ।

प्रदेश २ मा १३ स्वास्थ्यकर्मी भाइरसबाट संक्रमित भएका छन् । त्यसमा नारायणी अस्पतालमा कार्यरत नर्स र एक फर्मासिस्टले कोरोना जितिसकेका छन् । आइतबार सप्तरीका हेल्थ असिस्टेन्टमा भाइरस पोजेटिभ रहेको पुष्टि भएको छ । पर्सामा आइतबार थप पाँच स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वागमती प्रदेशमा ८ स्वास्थ्यकर्मी मध्ये ४ जना चिकित्सक र ४ जना नर्स रहेका छन् ।

प्रदेश नम्बर ५ मा २ नर्स र ३ स्वास्थ्यकर्मी गरी ५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छैन । बैशाख अन्तिम साता पहिलोपटक कोरोना संक्रमण पुष्टि भएकी तौलिहवकी नर्स भने उपचारपछि निको भएर घर फर्किसक्नुभएको छ ।

कर्णाली प्रदेशमा अहिलेसम्म स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।