पहिरोमा हराएका बालकको शव पाँच दिनपछि भेटियो


न्युज अफ नेपाल, पर्वत ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा हराईरहेका एक जना बालकको शव पाँच दिन पछि भेटिएको छ । पहिरोमा हराएका १४ बर्षीय जेनिश बिकको शव बुधबार बिहान फेला परेको हो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाईमा शव खोजी गर्दा घर भन्दा तल चौतारी नजिक शब भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिनुभयो । गाउँकमिटीको अगुवाईमा शव खोजि गर्ने क्रममा कमिटीका अध्यक्ष खड्गबहादुर गुरुङले शुरुमा देख्नु भएको शर्माले जानकारी दिनुभयो ।

बेपत्ता भएका बालकको खोजीका लागि चार दिन सम्म सुरक्षाकर्मी र स्थानियबासी सक्रिय थिए । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर झिकाएर मंगलबार दिनभर समेत खोजी गरिएको थियो ।

पहिरोमा परि मृत्यु भएका तुलबहादुर थापाको परिवारका ४ जना र कमला बिकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीबेणीमा सोमबार सामुहिक अन्तेष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको जैमिनीघाटमा दाहंसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राती दुई घण्टा सम्मको मुसलधा बर्षापछि गएको पहिरोमा परेर ६२ बर्षीय तुलबहादुर थापा , उहाँकी श्रीमती ६० बर्षीया मिनाकुमारी थापा, छोरी ३४ बर्षीया दिर्पा थापा, नातिनी ११ बर्षीया विविसा थापा, नातिहरु १५ बर्षीय सम्राट थापा र १७ बर्षीय बिवेक थापाको मृत्यु भएको थियो ।

यसैगरी पहिरोमा परेर २६ बर्षीया कमला विकका छ ८ बर्षीया छोरी प्रमिशा विक र १४ बर्षीय छोरा जेनिश विकको मृत्यु भएको छ ।