पहेँलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिलाई प्रोत्साहन रकम



मिला दरै, तनहुँ ।

पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार प्रोत्साहन भत्ता वितरण गरिएको छ । व्यास नगरपालिकाका १ देखि ४ नम्बर वडाका पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम प्रदान गरिएको छ । नेपाल सरकारले ‘ग’ वर्ग अथवा पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम नदिने निर्णय गरेपनि व्यास नगरपालिकाले भने दिन शुरु गरेको छ  ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख एवं स्थानीय समन्वय समितिका संयोजक मिरा जोशीले प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको हो । सरकारले ‘क’ र ‘ख’ वर्गमा परेका व्यक्तिहरुलाई मात्र प्रोत्साहन रकम दिने निर्णय गरेको छ । नगरपालिकाको कोषबाट पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन रकम उपलब्ध गराएको न्यौपानेले बताउनुभयो ।

शुक्रबारबाट १ देखि ४ नम्बर वडासम्मका ‘ग’ वर्गका पहेंलो कार्ड प्राप्त व्यक्तिहरुलाई प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बाललबालिका शाखाका प्रमुख राधा वाग्लेले जानकारी दिनुभयो । ‘सरकारले रातो र निलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको छ, तर व्यास नगरपालिकाले भने पहिलो कार्ड भएकालाई पनि रकम प्रदान कार्यपालिका बैठकबाट पारित गरेरै वितरण शुरु गरेको हो, सायद अहिलेसम्म अन्य स्थानीय तहले वितरण गरेको थाहा पाएका छैनौं, तर पहिलो हुन सक्छ व्यास नगरपालिकाले पहेँलो कार्ड प्राप्त व्यक्तिलाई पनि प्रोत्साहन रकम प्रदान गर्न अग्रसर देखिएको छ,’ उहाँले भन्नुभयो ।

नेपाल सरकारले ‘क’ वर्गको रातो र ‘ख’ वर्गको निलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरुलाई मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेपनि व्यास नगरपालिकाले पाचौं नगर सभाबाट पारित गरे अनुरुप ‘ग’ वर्गका पहेंलो कार्ड प्राप्त व्यक्तिहरुलाई पनि प्रोत्साहन रकम प्रदान गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका १३३ जनाले पहेँलो कार्ड लिएका छन् भने शुक्रबार १९ जनालाई प्रति व्यक्ति वार्षिक दुई हजार पाँच सय रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बालबालिका शाखाका कार्यालय सहायक मुना तामाङले जानकारी दिनुभयो ।

साथै जेठ ३२ गते व्यासका १३ र १४ नम्बर वडा, असार १ गते १०, ११ र १२ नम्बर वडा, असार २ गते ५ र ६ तथा असार ३ गते ७, ८ र ९ नम्बर वडाका पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई प्रत्येक वडा कार्यालयबाट वितरण गरिने तामाङले बताउनुभयो । रातो र निलो कार्ड प्राप्त फरक क्षमताका व्यक्तिहरुलाई भने सरकारले उपलब्ध गराएको रकम वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्