खर्च विवरण छिट्टै सार्वजनिक गर्छौँ : उपप्रधानमन्त्री पोखरेल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै नागरिकहरु सडकमा प्रदर्शनमा उत्रिएपछि सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्चको विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । नागरिहरुले कोरोना नियन्त्रणमा ठूलो बजेट खर्च भएपनि पारदर्शी नभएको भन्दै आलोचना गरेपछि सरकारले छिट्टै खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको हो ।

उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन सबै नेपाली नागरिहरुलाई आह्वान गर्नुभएको छ । आज विज्ञप्ति जारी गर्दै विभिन्न माग राखी आन्दोलन गरेकाहरुलाई अहिलेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गर्दै उहाँले शनिबार संसद्बाट संविधान संशोधन हुन लागेकाले त्यसमा एकताबद्ध हुन आग्रह गर्नुभएको हो ।

उहाँले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि भएको खर्च छिट्टै सार्वजनिक गरिने बताउनुभयो । नेपाल सरकारका तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको र प्रदेश सरकार र स्थानीय तहले पनि आफ्ना कोषबाट कोरोनाविरुद्ध खर्च गरेको उल्लेख गर्दै उहाँले सरकारबाट यसको समग्र फाँटबारी छिट्टै सार्वजनिक हुने जानकारी दिनुभयो । हाल नेपालले गरिरहेको पिसिआर टेष्ट दक्षिण एशियाका धेरै मुलुकको भन्दा अधिक भए पनि सरकारले पिसिआर टेष्टको दायरा थप बढाउने निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले एक महिना यता विदेशबाट भित्रिने नेपालीको सङ्ख्या ह्वात्तै बढेर क्वारेन्टिनको व्यवस्थापनमा केही समस्या देखिए पनि तिनको निरन्तर सुधार गर्दै जान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।