सरकार विरोधी प्रदर्शनप्रति सिसिएमसीको गम्भीर ध्यानाकर्षण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

केही दिनयता सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनले कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सिसिएमसी) निर्देशक समितिको गंभीर ध्यानाकर्षण भएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलले जनाएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै पोखरेलले कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गंभीर र संवेदनशील हुनपर्ने बताएका छन् ।

‘आफ्ना मागहरु राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र हामीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गंभीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौँ ‘, विज्ञप्तिमा लेखिएको छ ।

यस्तै, लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेका कारण सामाजिक दूरीलाई कायम राखी संक्रमणको जोखिमलाई नियन्त्रण गर्न आग्रह गरिएको छ ।

विज्ञप्ति

नेपाल सरकार
कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र (सिसिएमसी) निर्देशक समिति
प्रेस वक्तव्य

विश्वका विभिन्न राष्ट्रहरुजस्तै नेपाल पनि यतिबेला कोरोना महामारीका विरुद्ध कठिन संघर्ष गरिरहेको छ । सरकारको योजना र आम नागरिकहरुको साथ सहयोगबाट हालसम्म हामीले कोरोना संक्रमणलाई धेरै हदसम्म प्रभावकारी नियन्त्रण गरिरहेको भए पनि केही समय यता संक्रमण बढ्दै गइरहेको र आगामी दिनमा यसमा थप वृद्धि हुने जोखिम देखिएको छ । जोखिमको यो विशेष स्थितिलाई ध्यानमा राख्दै विज्ञ, सार्वजनिक सञ्चारमाध्यम र आम नागरिकहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राख्दै कोरोना महामारी विरुद्धको योजनालाई थप प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको छ ।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको छ । प्रदेश सरकार र स्थानीय तहहरुले पनि आफ्ना कोषहरुबाट यस विषयमा खर्च गरेका छन् । सरकारबाट यसको समग्र फाँटवारी छिटै सार्वजनिक हुने नै छ । हाल नेपालले गरिरहेको पिसिआर टेस्ट दक्षिण एसियाका धेरै मुलुकहरुको भन्दा अधिक भए पनि सरकारले पिसिआर टेस्टको दायरा थप बढाउने निर्णय गरिसकेको छ । एक महिना यता विदेशबाट भित्रिने नेपालीहरुको संख्या ह्वात्तै बढेर क्वारेन्टिनहरुको व्यवस्थापनमा केही समस्या देखिएको भए पनि तिनको निरन्तर सुधार गर्दै जान सरकार प्रतिवद्ध रहेको जानकारी गराउँछौँ ।

यसै बीच, विभिन्न मागहरु राखी भइरहेका सार्वजनिक गतिविधिहरुप्रति नेपाल सरकार, कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र ९सिसिएमसी०, निर्देशक समितिको गंभीर ध्यानाकर्षण भएको छ । आफ्ना मागहरु राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र हामीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गंभीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौँ । लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको परिप्रेक्ष्यमा सामाजिक दूरीलाई कायम राख्नु र संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु हामी सबैको दायित्व हो । थोरै पनि असावधानीले संक्रमणले भयावह महामारीको रुप लिन सक्ने खतराप्रति सजग हुन सम्बद्ध सबैमा आह्वान गर्दछौँ ।

हामी सबैलाई थाहा छ,भोलि नेपालको संसदबाट विशेष निर्णय हुँदैछ । लिम्पियाधुरा, लिपुलेक र कालपानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिविम्वित गर्नेगरी प्रतिनिधिसभाले भोली गर्ने संविधान संशोधन सम्बन्धी निर्णय नेपालको इतिहासको एउटा महत्वपूर्ण क्षण हो । नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेको यस विशेष दिनलाई हार्दिक रुपमा स्वागत गर्न र सिंगो राष्ट यस विषयमा एक रहेको यथार्थलाई पुनःपुष्टि गर्न हामी सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।

ईश्वर पोखरेल
उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा संयोजक सिसिएमसी, निर्देशक समिति