अन्तर जातीय प्रेम सम्बन्ध नै चौरजहारी घटनाको मुख्य कारक

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुकुम (पश्चिम) चौरजहारी नगरपालिका ८ सोती घटना नवराज विक र सुष्मा मल्ल वीचको अन्तरजातीय प्रेमका कारण घटेको बुटवलवाट गएको अधिकारकर्मी तथा सञ्चारकर्मीद्वारा तयार पारिएको स्थलगत अध्ययन/अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शुक्रवार प्रतिवेदन सार्वजनिक गदै सुष्माका अभिभावकले दलित युवालाई स्विकार गर्न नसकेकाले योजना बद्ध आक्रमणमा उत्रिएको उल्लेख छ ।

बुटवलवाट गएको स्थलगत अध्ययन, अनुगमन टोलीमा विनोद पहाडी, संविधानसभा सदस्य एवं केन्द्रीय अध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल , गोविन्द खनाल, केन्द्रीय बरिष्ठ उपसभापति, मानव अधिकार तथा शान्ति समाज , बालकृष्ण चापागार्इं, बरिष्ठ पत्रकार तथा अधिवक्ता , शिव गौडेल, अधिवक्ता – एडभोकेसी फोरम, रुपन्देही , माधव नेपाल, बरिष्ठ पत्रकार र विनोद परियार पत्रकार रहनु भएको थियो ।

जेठ १० गते नवराज विकलाई सुष्मा मार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिहरुको योजनामा भएको क्रुर र बर्बरतापूर्ण तवरले नृशंसतापूर्वक ६ जना युवाको सामूहिक हत्या भएको र अन्यले कुटाई खाएको तथ्यहरुले प्रष्ट्याउँछ । स्थलगत अध्ययन अवलोकन र अनुगमनबाट प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मीवीच घटनाबारे छलफल अन्तरक्रिया गर्दा, घटना जातीय भेदभाव छुवाछुत जस्तो अमानवीय कुप्रथाको कारणले घटेको देखियको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चौरजहारी सोतीगाउँको घटना भवितव्य हो भन्दै यस्तो जघन्य अपराधलाई सामान्यीकरण गर्नका लागि प्रभावशाली व्यक्ति/निकाय/समूहहरु घटना घटेकै दिनदेखि नै केन्द्रदेखि स्थानीय तहसम्म सक्रिया देखिन्छ, जुन दुर्भाग्यपूर्ण छ ।

कुनै प्रतिवाद नगरी घर फर्कन बाटो लागिसकेका यूवाहरुलाई गाउँमा शान्तिपूर्ण रुपमा छलफल गर्न सक्ने आधार हुँदा हुँदै वडाअध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी साघांतिक आक्रमण र हत्या गरी भेरीमा फालेको घटनाका पीडित प्रत्यक्षदर्शीहरुको बयानबाट पुष्टि हुन्छ ।

घटनामा नवराजसँगै गैरदलित समुदायका यूवाहरु गोविन्द शाही र गणेश बुढामगर मगरको समेत क्रुरता पूर्वक हत्या गर्नुमा दलित नवराजलाई साथ दिएको कारण नीजहरुलाई पनि कुटपीट गरीहत्या गरिएको देखिन्छ ।

अपराधिलाई राजनैतिक संरक्षण हुने गरेकाले दण्डहिनता मौलाउँदै गएका कारण यो घटना घटाउन आपराधिक मानसिकताले ग्रस्त समूह उत्प्रेरित भएको देखिन्छ । आक्रमणकारीले एकोहोरो रुपमा ति यूवाहरुमाथि धारिला हतियार, तिखा ढुंगाहरुले प्रहार गर्दै माथिबाट तल भेरी नदी तर्फ लखेट्दै गएका थिए । ती यूवाहरुले कुनै पनि प्रतिवाद गरेको देखिदैन । उनीहरुले आफूहरुलाई नमार्न, निरीहता पूर्वक अनुनय विनय गर्दछन तर गाउँलेको जत्थाभित्रका आक्रमणकारीले निर्ममता पूर्वक ढुंगाले टाउको, मुखमा हिर्काएको÷थिचेको तथ्यले प्रमाणित गर्दछ ।

केही घाईते यूवाहरु बाँच्नका लागि भेरीको भंगालोमा हाम फालेका तर पारीपट्टीबाट आएका आक्रमणकारीले ढुंगा प्रहार गरेकाले नदी तर्न नसकि मृत्यूवरण गर्नुपरेको कारुणिक अवस्था तथ्यगत रुपमा प्रमाणित भएको छ । आक्रमणमा प्रत्यक्ष संलग्नता देखिएका वडाअध्यक्ष डम्बर बहादुर मल्लले लकडाउन उल्लघन गर्न आएका यूवाहरुलाई पक्राउ गर्न भनि प्रहरीलाई समेत गलत सूचना दिएका छन् ।
घटना स्थलमा पुगेको प्रहरीले कुनै खालको प्रतिबाद नगरी आक्रमणबाट घाइतेहरुलाई बचाई सुरक्षाका लागि इप्रका चौरहजारीमा लगेको देखिन्छ । प्रहरीले घाईतेको उपचारपछि घटनाको वास्तविकता खुलेको देखिन्छ ।

यसले घटना योजनाबद्ध रुपमा भएको भन्न सकिन्छ । घटना घटेको दिन १० गतेराती नै नवराज विकको शव भेटिएको छ । तर, यति हुँदा पनि प्रहरीले अन्य ५ जना जो वेपत्ता भएका थिए जानकारी हुँदा हुँदै पनि खोजी कार्य हुँदैन ।

यसमा वडाअध्यक्ष सहितको ठूलो संख्याका त्यहाँ आक्रमणमा उत्रेकाहरुलाई भेरीमा यूवाहरुलाई बगाएको कुरा जानकारी हुँदा पनि सोती गाउँका स्थानीयमा मानवीय संवेदना देखिदैन । उनीहरु घर गएर मस्त सुतेको देखिन्छ ।

प्रतिवेदनमा नेपाल कानुनी रुपमा विस २०२० सालको मुलुकी ऐनमै छुवाछुत मुक्त राष्ट्र घोषणा भयो । २०४७ सालको संविधान, २०६३ सालमा पुन जनआन्दोलपछि बनेको सरकारले छुवाछुतमुक्त राष्ट घोषणा गरेको छ ।

२०७२ को संविधानले सबै प्रकारको भेदभाव अन्त्य गरेको उल्ल् त्यस्तै जातीय भेदभाव कसुर र सजाय ऐन २०६८ ले फौजदारी अभियोगमा मुद्धा चलाउने गरी कानुनी रुपमा दण्डनीय अपराध मानेर कारवाही गर्ने कानुन बनेको छ ।

नेपालको संबिधान २०७२ र फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ९ दफा १६६ समेतको प्रतिकुलको घटना प्रेम संम्बन्धमा कारण भएको देखिन्छ ।

तर, तत्कालिन सशस्त्र युद्धको उदगम थलो, जातीय छुवाछुत मुक्त घोषणा गरी जातीय विभेदमा नमूना जिल्ला भनिएको रुकुम पश्चिममा जातीय विभेदकै कारण आततायी र कलंकित घटना घटेकाले यो घटनालाई जातीय विभेदसँग सम्बन्धित नभएको भन्ने प्रमाणित गर्न केहि नेतृत्व वर्ग तल्लीन रहेको भन्ने पिडितको गुनासो छ ।

यदि त्यसो भएमा यो सिंगो मानवता विरुद्धकै ठूलो अपराधको ढाकछोप हुनेछ । समग्रमा यो घटना अन्तरजातीय प्रेम सम्बन्धबाट सृजित परिप्रेक्ष्यमा प्रतिसोधको भावनाले प्रेरित जत्थाद्धारा भएको आक्रमणका कारण घटन गएको देखिन्छ । पीडित पक्षका नवराज विक सहितका युवा र किशोरहरुमा पनि २० बर्ष नपुगी बिवाह गर्न पाइदैन भन्ने कानूनी ज्ञान र सचेतनाको अभावले १७ बर्षकी प्रेमीकालाई लिन जानुने दुखद घटना निम्ताएको देखिन्छ ।

नवराज बिकलेसाथीभाइ जुटाई प्रेमिकालाई लिन उनको घर भएको सोतीगाउँमा गएको अवस्था छोपी रीस–इवी साँधेर बसेकाहरुले नियोजित आक्रमण गर्न लकडाउन वहाना बनाएको देखिन्छ ।

अनुगमन टोलीको सुझावहरु

यो घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्विकार गरी ज्यानै जाने गरी आक्रमणमा उत्रेको हुनाले जातीय विभेदकै घटनाका रुपमा कानुनी कारवाही गर्नुपर्ने देखिन्छ ।

जातीय विभेदको मानसिकताले प्रतिसोधको भावना लिई समूहमा योजनाबद्ध रुपमा आक्रमण गरेको देखिएकाले संगठित अपराध अनुसार कारवाही अघि बढाउनुपर्ने देखिन्छ ।

यो घटना सम्बन्धमा संसदीय छानविन समिति गठन हुनु सकारात्मक रहेको छ । संसदीय छानविन समितिले दोषीहरुलाई कानुनी कारवाही गर्न र विभिन्न आवरणमा छुवाछुतलाई नै बढावा दिन खोज्नेहरुलाई निरुत्साहीत गर्ने गरी कार्य सम्पादन गर्नुपर्दछ ।
कानुनी सर्वोच्चता, विधिको शासन, न्याय र समानता कायम गरी संविधानमा उल्लेखित मौलीक हकलाइ कार्यान्वयन गर्न आवश्यक छ ।
सोही घटनाका पिडित परिवारलाई न्याय, राहत, क्षतिपूर्ती र घाईतेहरुको उपचारको सम्पूर्ण प्रवन्ध गर्नुपर्दछ ।

देशभरि सिलसिलाबद्ध रुपमा घटेका जातीय विभेदका घटनाहरुको एउटा कारण दण्डहिनताको निरन्तरता पनि हो । तसर्थ दण्डहिनताको कहालिलाग्दो सिलसिला अन्त्य हुनुपदर्छ । दोषी जो कोही भएपनि कानुन सम्मत दण्डीत हुनुपर्दछ ।

यस घटनालाई लिएर रुकुम (पश्चिम) जाजरकोट लगायत देशका कुनै पनि ठाउँमा कुनै पनि प्रकारको सामाजिक सदभाव – सहिष्णुता खलबलिने, द्वन्द्व सृजना हुने खालको वातावरण बन्न नदिन समयमै चनाखो हुनुपर्दछ ।

जातीय विभेद कानुनी रुपमा अन्त्य भएपनि व्यवहारमा अन्त्य नभएकाले त्यसको अन्त्यका लागि दीर्घकालिन योजना लागू गर्नुपर्दछ प्रतिवेदनमा भनिएको छ ।