झापामा थप १३ जना कोरोना संक्रमित



न्युज अफ नेपाल, भद्रपुर।

झापामा शुक्रबार थप १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

कचनकवल गाउँपालिकामा ११ जना र बाह्रदशी गाँउपालिकामा २ जना संक्रमित थपिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिनुभयो । योसँगै जिल्लामा संक्रमितको संख्या १६९ पुगेको छ । कचनकवलको लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेकामध्ये ७ जना र महेन्द्ररत्न मावि केचनाको क्वारेन्टाइनमा बसेकामध्ये ४ जना सक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । गाउँपालिका वडा नम्बर १, ५ र ६ का एक÷एक जना, वडा नम्बर ४ मा ८ जना रहेका छन् । उनीहरुको उमेर १५ देखि ४९ बर्षसम्मका सबै पुरुष रहेको शाखा प्रमुख यादवले जानकारी दिनुभयो । उनीहरु सबै भारतको मुम्बई र दिल्लीबाट आएका हुन् ।

गाउँपालिकामा शुक्रबार आएको १५१ जनाको रिपोर्टमध्ये ११ जनामा पोजेटिभ र १४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिकामा मात्रै संक्रमितको संख्या १२७ पुगेको छ, जसमध्ये ९६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । त्यस्तै बाह्रदशी गाउँपालिकामा थपिएका दुई जना संक्रमित भारतबाट आएका हुन् । गाउँपालिका वडा नम्बर ५ बस्ने ३७ बर्षीय पुरुष र वडा नम्बर ३ का २७ बर्षीय पुरुष रहेका छन् । भारतबाट आएका उनीहरुलाई सीमाबाट उद्धार गरी सोजै पशुपति माविको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिनुभयो । गाउँपालिकाले स्वाब संकलन गरी पठाएको २६ जनामध्ये दुई जनामा पोजेटिभ र बाँकी सबैको रिपोर्ट नगेटिभ आएको उहाँले बताउँनुभयो ।

जिल्लामा हालसम्म गौरीगञ्ज १२ जनामा, कनकाईमा तीन, भद्रपुरमा तीन जना, अर्जुनधारामा दुई, गौरादह नगरपालिकामा चार जना, दमक नगरपालिकामा एक जना, मेचीनगरमा दुई, झापा गाउँपालिकामा एक जना, बाह्रदशीमा ६ जना, बुद्धशान्तिमा पाँच जना, हल्दीबारीमा दुई, कमल गाउँपालिकामा एक जना कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्