जेष्ठ नागरिकलाई स्वास्थ्य सहायता सामाग्री



मोतीराम तिमल्सिना, काभ्रे ।

स्वास्थ्य कार्यालय काभ्रेले तेमाल गाउँपालिकामा रहेका ६५ जेष्ठ नागरिकलाई सहायता सामाग्री उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालय काभ्रेले जेष्ठ नागरिक स्वास्थ्य सचेतना कार्यक्रम अन्र्तगत उक्त सामाग्री वितरण गरेको हो ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जेष्ठ नागरिकहरुको सम्मानमा स्वास्थ्य कार्यालयले उपलब्ध गराएका सामाग्रीहरु बहुउपयोगि हुने बताउनु भयो । ‘जहाँ जेष्ठ नागरिकको सम्मान हुन्छ, त्यहाँका नागरिकको चेतना स्तर विकास भएको बुझिन्छ’–प्रजिअ तिमल्सिनाले भन्नुभयो–‘विकास र समृद्धीको आधार जेष्ठ नागरिक भएकाले उहाँहरुको सम्मान गर्दै उहाँहरुले भोगेको अनुभवलाई समाज विकासमा लगाउन आवश्यक छ ।’ ऐतिहासिकता, सांस्कृतिक र परम्पराको संरक्षणका लागि जेष्ठ नागरिकको अनुभव मार्गदर्शक हुने भएकाले उहाँहरुको अनुभवलाई स्थानीय सरकारले पूँजीको रुपमा लिनु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेले जेष्ठ नागरिक स्वास्थ्य सचेतना कार्यक्रम अन्र्तगत ६५ जना जेष्ठ नागरिकलाई फोल्डिङ्ग भएको लाठी, टेकेर हिड्ने सकिने छाता र ठुलो तौलिया उपलब्ध गराएको थियो । फोल्डिङ्गवाला लाठी बहुउपयोगि हुने जेष्ठ नागरिकको अनुभव छ । जेष्ठ नागरिकहरुलाई प्रजिअ तिमल्सिना, गाउँपालिका अध्यक्ष सलामसिं लामा, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्याल, शशस्त्र प्रहरी प्रमुख एसपी पुरुषोतम थापा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, राष्ट्रिय अनुसन्धानका प्रमुख सरोज निरौला, गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य कार्यालय काभ्रेका कर्मचारीहरु लगायतले जेष्ठ नागरिकहरुलाई सहायता सामाग्री उपलब्ध गराएका थिए ।

जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना सहयोग कार्यक्रम मार्फत उक्त सामाग्री उपलब्ध गराए पछि कमाण्ड पोष्ट टोलीले तेमाल गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टिनको अनुगमन गरेको थियो । चाँपाखोरी र नारायणस्थानमा निर्माण गरिएको १ सय ५ बेडको क्वारेन्टाईन ब्यवस्थित छ । नागरिकहरुलाई संक्रमण हुन नदिन र संक्रमण भएको अवस्थामा फैलन नदिन, उपचार गराई पूर्ण रुपमा निको बनाउने प्रयास जारी राखिएको गाउँपालिका अध्यक्ष सलामसिं लामाले बताउनु भयो । जिल्लामा रहेका १३ वटा तहकै क्वारेन्टाईन गुणस्तरीय रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्