स्थानीय सरकारको बजेट स्वास्थ्यमा केन्द्रित गर्न सुझाव

14
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बागमति प्रदेशका नगरपालिकाहरुले आगामी आ.ब ०७७/७८ को बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने बताएका छन् ।

नेपाल नगरपालिका संघ बागमती प्रदेश समितिको आयोजनामा सम्पन्न भएको प्रदेश भित्रका नगरपालिाकाहरुका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत लगायतकोे भर्चुअल अन्तरक्रिया कार्यक्रममा आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका हुन् । चालु बर्षसम्म नगरपालिकाहरुले पुर्वाधार विकासलाई जोड दिईएको भए पनि हाल कोभिड १९ को प्रभाव विश्वभर परेको र नेपालमा समेत प्रत्यक्ष रुपमा प्रभावित भएकोले नागरिकहरुको स्वास्थ्यलाई नै पहिलो प्राथमिकता दिदै स्वरोजगारका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका हुन् । कोभिड १९ का कारण बृद्ध, महिला, बालाबालिका, अपांगता भएका व्यक्तिहरु अझ प्रभावित भएकोले बजेट निर्माण गर्दा उक्त क्षेत्रहरुलाई समेत प्राथमिकतामा राख्ने बताएका हुन् ।

विदेशबाट नागरिकहरु आईरहेको सन्दर्भमा उनिहरुको उचित व्यवस्थापनमा समेत स्थानीय सरकारहरु सचेत हुनुपर्ने सहभागिहरुले सुझाव दिएका छन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल प्रमुख बक्ता रहेको उक्त कार्यक्रममा संघ तथा प्रदेश सरकारबाट आउने अनुदान रकमको कटौतिसंगै आन्तरिक आम्दानीमा समेत गिरावट आउने र कोभिड १९ को प्रभाव अनिश्चित भएका कारण उक्त विषयलाई मध्य नजर गर्दै स्थानीय सरकारहरुले आगामी बजेट तर्जुमा गर्न सुझाव दिनु भएको थियोे । नेपाल नगरपालिका संघ बागमती प्रदेश समिति संयोजक एवं भिमेश्वर नगरपालिका प्रमुख भरत के.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नगरपालिका संघका कानुन अधिकृत तथा बागमती प्रदेश व्यवस्थापक सरिता सापकोटाको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

उक्त कार्यक्रममा नेपाल नगरपालिका संघका उपाध्यक्ष कविता ढुगाना, संघका केन्द्रिय सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्री, बागमती प्रदेशका विभिन्न नगरपालिकाका प्रमुखहरु, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु लगायत ब्यक्तिहरुले कोभिड १९ का बारेमा भोगेका समस्या र समाधानका प्रयासका बारेमा जानकारी गराएका थिए । नगरपालिकाहरुले कोििभड १९ रोकथाम तथा नियन्त्रणका लागि गरेका रचनात्मक र अनुकरणीय कार्यहरुको अनुभव समेत आदान प्रदान गरेका थिए । आन्तरिक कर असुली, योजनाहरुको कार्यान्वयन तथा आगामी वर्षहरुका योजनाका बारेमा छलफल भएको थियो ।