१० अर्बको हिसाब माग्दै दमौलीमा प्रदर्शन

0
Shares

मिला दरै, तनहुँ ।

कोभिड १९ को संक्रमण फैलिएसँगै सरकारले गरेका गतिविधि सुधारको माग गर्दै शुक्रबार दमौलीमा प्रदर्शन गरिएको छ । युवाहरुले कोभिडसँग जुध्नका लागि सरकारले अपनाएको नीति सुधार गरी संक्रमितको उपचार र परीक्षण भन्दा बढी खर्च भएको दावी गरिएपछि हिसाब देखाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

सदरमुकाम दमौलीमा इनफ इज इनफ ग्रुप ‘अब त अति भयो’ समूहका सदस्यहरुले सफा सडकमा प्ले कार्डसहित विरोध प्रदर्शन गरेका थिए । बिहान १० बजे सडकमा प्ले कार्डसहित उत्रिएका युवाहरुले सरकारी बजेट अनियमितता भएको, पीसीआर परीक्षणमा ढिलाइ भएको, लामो समयको बन्दाबन्दीले जीवन असहज भएको, सांसदलाई दिइएको बजेट, फजुल खर्च लगायतको विषयमा विरोध गरेका हुन् । करिब एक घण्टा सडकमा प्लेकार्ड र नेपाली झण्डा सहित उत्रिएका उनीहरु अधिकांश किशोरावस्थाका थिए ।

सरकारले अहिलेको समस्यासँग जुध्न नसकिरहेको अवस्थामा राजधानीबाट सुरु आन्दोलनको हिस्साअन्र्तगत यहाँ प्रदर्शन गरिएको प्रदर्शना अगुवा अविनाश अधिकारीले बताउनुभयो । सरकारलाई शान्तिपूर्ण दवाब दिएर सही बाटोमा ल्याउन प्रदर्शन गरिएको उहाँको भनाई छ । प्रदर्शनकारीले मौन रुपमा प्रदर्शन गरेका हुन् ।

८० दिन लामो समय गरिएको बन्दाबन्दीले सरकारले कोभिडका संक्रमित घट्नुपर्ने हो तर पिसिआर गर्न सकेको छैन सबैको, छिटो र सहज बनाउन सक्नुपर्छ, सरकारले गम्भिरतापूर्वक नलिदा दवाव स्वरुप प्रदर्शन गरिएको सहभागीहरु बताउँछन् । स्वतः स्फुर्त रुपमा देशैभर प्रदर्शन गरिएकाले दबाब पुग्ने अपेक्षा गरिएको उहाँहरु बताउनुहुन्छ ।

सहभागी अधिकांश युवा सामाजिक सञ्जालमार्फत जुटेका हुन् । छोटो समयको सरसल्लाहबाट नै सबै जम्मा भएर प्रदर्शन गरिएको उनीहरुको भनाई छ । ‘फेसबुकमार्फत बनेको समूहले कुराकानी गरेर छोटो समयमै जम्मा भएका हौं,’ सहभागी केसिका श्रेष्ठले भन्नुभयो । ट्राफिक चोकबाट सुरु प्रदर्शन सहभागीको संख्या बढेपछि व्यास नगरपालिकाको कार्यालय अगाडिसम्मको सडकका दुवै भागमा युवा विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले प्रदर्शनका  क्रममा कोभिड संक्रमणको जोखिमबाट सुरक्षित हुन पञ्जा र मास्क लगाएर दूरी व्यवस्थापन आफैँ गरेका थिए ।

नाराबाजी नगरीकन मौन प्रदर्शन गरेका युवाले अन्तिममा राष्ट्रगान पश्चात प्रदर्शन समापन गरेका थिए । प्रदर्शनमा सहभागी युवाहरुको अधिकांश नयाँ अनुहार भेटिएको थिए । आगामी दिनमा पनि सरकारका नीति परिवर्तन नभएमा फेरि प्रदर्शन मार्फत दबाब दिने उहाँहरुको भनाई छ ।