हेटौंडामा घन्कियो ‘इनफ इज इनफ’

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

युवाले बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार विरोध प्रदर्शन गरेका छन् । राजधानीका विभिन्न क्षेत्रबाट मुख्य बजार क्षेत्रमा भेला भएका युवाहरुले सरकारको भ्रष्ट प्रवृति, कोरोना जाँच तथा नियन्त्रणमा भएको गम्भीर लापरबाही तथा घोटालाविरुद्धमा प्रदर्शन गरेका थिए ।

युवाहरुले प्लेकार्ड प्रदर्शन गर्दै विरोध गरिरहँदा उनीहरुले लेखेका नाराहरुले सर्वसाधारणको ध्यान तानिएको थियो । सडक किनारमा उभिएर प्रदर्शन गरेकाहरुको प्लेकार्डमा लेखिएका थिए–इनफ इज इनफ, १० अर्ब खै ?, पुस्तकमा कर किन बढाएको ?, नो आरडीटी । युवाहरुले सरकारको ध्यानाकर्षण गरेका थिए ।

युवाहरुले ‘ए सरिता गिरी बन्द गर तिम्रो दादागिरी !, ए सरिता गिरी, तिम्रो धेरै भो चुरीफुरी, उठौं युवा–जागौं युवा, देशका लागि जागौँ युवा, कर केका लागि ?, खर्च हैन उपलब्धी देखाऊ, हिमाल पहाड तराई कोही छैन पराई, मैले तिरेको कर खै सरकार ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

शुक्रबार विहान हेटौंडाको बुद्धचोकमा प्रतिनिधिसभा सदस्य सरिता गिरीको अभिव्यक्ति, सरकारको रवैयाविरुद्ध युथ अफ हेटौंडा तथा चेतनशील युवा समूहले प्रदर्शन गरेका हुन् । लिम्पियाधुराबारे विवादास्पद अभिव्यक्ति दिएसँगै प्रतिनिधिसभा सदस्य गिरी विवादमा आउनुभएको हो ।

‘जनताले तिरको कर तिमीहरुको मोजमस्तीका लागि होइन’, ‘जनताको स्वास्थ्य ठूलो कि राष्ट्रपतिको कार्पेट ?’, ‘म मेरो देशलाई माया गर्छु, तर सरकारसँग लज्जित छु’ जस्ता नाराअंकित प्लेकार्ड युवाहरुले बोकेका थिए ।

कतिपयले ‘१० अर्ब खोई ?’ ‘लाज लाग्दैन ?’, ‘स्यानिटाइज दि गभर्मेन्ट’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए भने टीसर्ट लगाएका थिए । स्वस्फूर्तरुपमा सडकमा उत्रिएका युवाहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने, स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीई उपलब्ध हुनुपर्ने, पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, एमसीसी खारेज हुनुपर्ने र रुकुम हत्याकाण्ड जस्ता विषयका प्लेकार्ड बोकेका थिए । सडकमा अवरोध नगरी भौतिक दुरी कायम गरी प्रदर्शन गरिएको थियो ।