कोरोना परीक्षणमै ढिलाइ, १० दिनमा पनि आएन पीसीआर रिपोर्ट

0
Shares

सलिम अन्सारी, प्यूठान ।

प्यूठानमा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ ।स्वाब संकलन गरि कोरोना परिक्षणका लागि प्रयोगशालामा पठाईएको दस दिन बितिसक्दा पनि रिपोर्ट आउन नसकेको हो।

भारत लगायतका विभिन्न ठाउँबाट प्यूठान भित्रिएका नागरिकलाई स्थानीय तहहरुले अनिबार्य रुपमा क्वारेन्टिनमा राख्ने गरेका छन। १४ दिन क्वारेन्टिनमा राख्ने र उक्त समयमा पिसिआर चेकजाँच गरेर नेगेटिभ रिर्पोट आएमा घर पठाउने गरिन्छ । क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि स्वाब सङकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न जिल्ला बाहिर पठाउने गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानले हालसम्म जिल्लामा पीसीआरबाट ९ सय २५ तथा आरडीटी प्रविधिबाट ५ हजार ६५२ जनाको परीक्षण गरिएको बताएको छ । जम्मा ३ सय ३६ जनामा आरडिटी पोजेटिभ देखिएको छ। जिल्लाभर २२७ क्वारेन्टाईन स्थल छन।हालसम्म ४ हजार ४१४ जना जिल्लाका क्वारेन्टाइनमा बसिरहेका छन् भने कोरोना संक्रमित २४ मध्ये २३ जना स्थानिय आइसोलेसनमा छन् । एक संक्रमित भने बेल्झुन्डी कोरोना बिशेष अस्पतालमा उपचाररत छन। उनिहरु सबैको अबस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले बताएको हो।
प्यूठानबाट पीसीआर रिपोर्टका लागि पठाईका ९ सय २५ मध्ये अझै ३६२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीले बताए ।

उनका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा २१४,प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ६८ जना,भेरिअंचल अस्पताल बाँकेमा ४१ जना र राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३९ जना गरि जम्मा ३ सय ६२ जनाको रिपोर्ट आउन बांकी छ। भारतबाट आएका उनिहरुको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षण गर्न पठाईएको जानकारी दिए।

‘ उनिहरुको स्वाब पठाएको दस दिन भइसक्यो’, सुबेदिले भने,’ आरडीटीमा पोजिटिभ देखिएपछि स्वाब पठाएका हौं,अझै रिपोर्ट आएको छैन’ ।

क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएकाहरुको स्वाब संकलन गरि पठाईएको उनले बताए। रिपोर्ट नआएकोले उनीहरू क्वारेन्टाइनमै बस्न बाध्य भएका छन् ।

पिसिआर रिपोर्ट पर्खेर बसेका उनिहरुलाई अहिले क्वारेन्टाईनमै स्वास्थ्य शिक्षा र मनोपरामर्स दिन थालिएको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको हो।